सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवालाई पुनः सभापति बन्न रोक्न सक्ने यी हुन् अप्ठ्याराहरू

देउवालाई पुनः सभापति बन्न रोक्न सक्ने यी हुन् अप्ठ्याराहरू

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 5.8K
    SHARES

  • देउवालाई पुनः सभापति बन्न रोक्न सक्ने यी हुन् अप्ठ्याराहरू

    काठमाडौं – ‘पार्टीलाई १ नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ ।’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन् ।

    पपुलर भोटमा कांग्रेस पहिलो पार्टी भए पनि प्रत्यक्षतर्फ प्राविधिक कारणले निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको दोहोर्‍याउँदै पहिलो पार्टी बनाएर मात्र राजनीतिबाट विश्राम लिने चाहना देउवाले प्रकट गरेका छन् ।  

    देउवाको प्रस्तावमा निकटहरुले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ । हामी सहयोग गर्न तयार छौं ।’

    फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्‍याएको छ । तर निकटहरुले देउवालाई सभापतिको उम्मेदवार बन्न अर्को शर्त अघि सार्दै भनेका छन्, ‘विमलेन्द्र निधिको कुरा के हो ? उहाँलाई समेटेर अघि बढ्नुहोला नत्र अप्ठ्यारो पर्छ ।’

    पार्टी उपसभापतिको जिम्मेवारीमा रहेका निधिले समेत नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झण्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन् । देउवाले भन्ने निकटहरुसँग भन्दै आएका छन्, ‘ऊ (निधि) पनि लड्छ, म पनि सभापतिमा लड्छु, केही फरक पर्दैन ।’

    निधिलाई मात्र होइन, पुरानो टीमलाई एकजुट बनाएर अघि बढाउन निकटहरुको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ । आफ्नो समूहबाट सर्वसम्मतिले १४औं महाधिवेशनमा नेतृत्वको प्रत्यासी बन्ने देउवाको चाहनालाई निधिले खण्डित गरिदिएका छन् ।

    देउवाले पूर्व सहमति पालना नगरेको भन्दै आफू पनि पार्टी नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै निधिले भेटघाटलाई तीव्र बनाएका छन् । उनी पार्टी महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहसहित युवा केन्द्रीय सदस्यहरुसँग निरन्तर छलफलमा जुटेका छन् ।

    निधिको सक्रियतासँगै देउवानिकट नेताहरुले भन्न थालेका छन्, ‘उहाँ (निधि) आफैं सभापति बन्न मत पुर्‍याउनुहुन्छ कि हुन्न थाहा छैन तर देउवालाई हराउने सामथ्र्य भने राख्न सक्नुहुन्छ ।’

    तर सभापति देउवा र उनीनिकट केही नेता भने उपसभापति निधिले टीममा अझै विद्रोह गर्ने सम्भावना नरहेको र गरिहाल्दा पनि आफूहरुका लागि १४औं महाधिवेशन १३औं भन्दा अनुकूल हुने बुझाइमा रहेका छन् ।

    संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा एउटै मात्र उम्मेदवार बन्ने सम्भावना नरहेको बताउँदै एकभन्दा बढी उम्मेदवार हुँदाको लाभ आफ्नो पक्षलाई स्वाभाविक हुने विश्लेषण छ । नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला नेतृत्वको प्रतिस्पर्धामा रहेको बताउँदै देउवानिकट ती नेताले भने, ‘गुटहरुको महासंघजस्तो उक्त समूहले सभापतिदेखिको टीम तत्काल बनाउन सक्ने पनि देखिँदैन । त्यहाँ गएर निधि दाइको भूमिका के हुन्छ र ?’

    १३औं महाधिवेशनपछि पार्टी एकीकरण गरेर आएका विजयकुमार गच्छदार, सुनिल थापा सहितको समूह आफूहरुसँगै रहने बुझाइमा रहेको देउवा पक्ष पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि समेटेर अघि बढ्ने रणनीतिमा देखिन्छ । नेता रामचन्द्र पौडेललाई सभापतिमा अस्वीकार गर्दै सिटौलाले १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए । 

    तत्कालीन संस्थापन पक्षबाट सिटौलाको विद्रोहले नै देउवालाई कांग्रेस नेतृत्वमा पुर्‍याउन सहयोगी बनेको थियो । अहिले पनि देउवा र सिटौला सम्बन्ध सुमधुर रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘निधि सहितका नेताहरु सम्भाव्य विद्रोहलाई सिटौला पक्षको सहयोगले भरथेग गर्छ । गच्छदार र थापा समूहको सहयोगले नेतृत्वमा पुग्न सहयोगी बन्छ ।’

    सिटौलानिकट केही केन्द्रीय सदस्यहरु देउवाले बोलाएको बैठकमा सहभागी भए पनि १४औं महाधिवेशनमा भूमिका कस्तो हुन्छ, स्पष्ट छैन ।  

    १३ औं महाधिवेशनमा पार्टीभित्रको प्रतिपक्षीमा रहेका देउवा १४ औं महाधिवेशन आफैंले गराउँदा त्यसको लाभ पनि उठाउन सकिने विश्लेषण छ । महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यताको टुंगो लाग्नै बाँकी रहेका बेला आफैं नेतृत्वमा अघि सर्ने देउवाको घोषणाले उक्त कार्य पनि प्रभावित हुनसक्ने इतर पक्षको आशंका छ ।

    छोटो समयमा छानबिनको काम सक्नुपर्ने दबाबमा सदस्यता छानबिन समिति रहेको र अहिले शतप्रतिशत सदस्यता थप भएको छ ।  

    गत वर्ष विभागहरु गठन र विस्तार गर्दा इतर समूहले सभापति देउवा नेतृत्वमा पुनः दोहोरिने उद्देश्यले पार्टी कब्जाको रणनीति लिएको भन्दै नेता पौडेल, महामन्त्री कोइराला सहितले विरोध गर्दै आएका छन् । त्यसले पनि सदस्यताको विषय निकै पेचिलो बन्न सक्ने देखिन्छ । सदस्यता टुंगो लाग्न सकेन भने पछिल्लोपटक तोकिएको भदौ १६ देखि १९ गते पनि महाधिवेशन कठिन हुने देखिएको छ ।  

    राष्ट्रिय राजनीति पनि देउवाको वरिपरि घुमिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा आफैं प्रधानमन्त्री बन्ने सम्भावना पनि उनको छ । पार्टी मात्र होइन, राज्य सत्तामा बसेर महाधिवेशन गराउँदा नेतृत्व दौड देउवाका लागि सहज हुने निकटहरुको विश्लेषण छ । महाधिवेशन नगराउन खोजेको आरोप खेपेका सभापति देउवाले नेतृत्वका लागि ‘एग्रेसिभ’ तयारी थालेपछि संस्थापन इतर पक्ष नै महाधिवेशनको विपक्षमा उभिन सक्ने बताउँदै ती नेताले भने, ‘अब देउवा प्रधानमन्त्री पनि बन्छन् । सबै उहाँको अनुकूल हुन्छ भनेर महाधिवेशन गराएन भन्नेहरु नै कोरोना र बाढीपहिरोका बेला कसरी महाधिवेशन गर्ने कुनै उपाय खोजौं भन्न पनि सक्नुहुन्छ तर अब महाधिवेशन रोकिँदैन । हाम्रा लागि अहिले अनुकूल छ ।’

    तर कांग्रेस भित्रैबाट नेतृत्व हस्तान्तरणको आवाज उठ्नुका साथै पार्टीभित्र देउवाविरोधी जनमत निर्माण हुँदै गएको छ र जनतामा पनि सोहीअनुसार धारणा बन्दै गएको भन्दै उपसभापति निधिले नेतृत्वका लागि थालेको प्रयासबाट संस्थापन इतर समूह भने उत्साहित छन् । निधि देउवाको सबैभन्दा ठूलो भरथेग रहेको बताउँदै संस्थापन इतर समूहका ती नेताले भने, ‘शेरबहादुरजीलाई उहाँको टीमभित्र मात्र होइन, नेतृत्वका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल छैन ।’

    राजनीति देखेकोजस्तो मात्र नहुने र नभएको दाबी गर्दै ती नेताले थपे, ‘सिटिङ सभापतिले नेतृत्व प्रतिस्पर्धामा हार्दा देउवालाई मात्र होइन, कांग्रेसलाई पनि नोक्सान पुग्छ । उनले आफू अनुकूल व्यक्तिलाई नेतृत्व हस्तान्तरण गरेर आफ्नो स्थान सुरक्षित गरे राजनीतिक उचाइ बढ्छ ।’

    आफू हुनुभन्दा देउवालाई हराउन अन्य नेताहरु एक ठाउँमा उभिन सक्ने सम्भावना टरिनसकेको बताउँदै विजयकुमार गच्छदार, सुनिल थापा सहितले अहिले समर्थन जनाए पनि परिस्थिति फेरिन सक्ने संस्थापन इतरको बुझाइ रहेको छ ।  

    निधिसँगै देउवा समूहमा रहेका धेरै नेता बाहिरिने विश्लेषण गर्दै इतर पक्षले प्रतिनिधिसभा क्षेत्रको अधिवेशनपछि मात्र त्यसको प्रभाव देखिने बताए । १३ औं महाधिवेशन निधि, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत सहितका संस्थापन इतरका नेता देउवालाई जसरी हुन्छ, सभापति जिताउन लागेका थिए । तर १४ औं महाधिवेशनमा आफैं नेतृत्वको कसरतमा जुटेका छन् ।

    त्यति मात्र होइन, पार्टीको संशोधित विधानले सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । ‘अन्य उम्मेदवारजस्तो उहाँ आफैं तयारीमा खट्न सक्ने देखिँदैन । कसलाई के गर्ने के भन्ने थाहा भएका नेताहरु कोही लाखापाखा लाग्ने कोही आफैं पदाधिकारी उम्मेदवार बन्नेछन्,’ निकटहरु भन्छन्, ‘तयारीका हिसाबले अघिल्लोपटक भन्दा केही चुनौती छ ।’

    उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंह पार्टीको नयाँ नेतृत्व चयनका विषयमा निरन्तर छलफलमा जुटेका छन् । शुक्रवार महामन्त्रीको निवासमा ३ नेता फेरि बस्ने तय भएको जानकारी दिँदै ती नेताले भने, ‘अहिले नै पदका विषयमा छलफल प्रवेश भएको छैन तर परिस्थितिले उहाँहरु त्यो चरणमा पुग्ने भयो भने आश्चर्य मान्ने अवस्था छैन ।’ ३ नेता एक ठाउँमा उभिए संस्थापन इतरका अन्य नेताहरू स्वाभाविक रुपमा सहमतिमा पुग्ने विश्लेषण गर्दै उनले भने, ‘यो त्यति सहज कुरा त होइन तर असम्भव पनि छैन ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend