काठमाडौं – साढे ३ वर्षअघि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि नेपाली कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवाको राजीनामा मागेका थिए । ४, ८, १६ भाइ सहितका विभिन्न गुट, उपगुट र समूहहरु दिनहुँजसो भेलामा जुट्थे । सभापति देउवामाथि केन्द्रीय समितिभित्र र बाहिरबाट दबाब दिन असन्तुष्ट पक्ष सक्रिय रह्यो ।
निर्वाचनमा पार्टीको पराजयपछि देउवाले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मात्र होइन, पार्टीको विशेष महाधिवेशनबाट उनलाई हटाउनुपर्ने धारणा पनि केही नेताले राखेका थिए । तर विशेष महाधिवेशनका लागि विधि र विधानसम्मत निर्णय प्रक्रिया अघि बढेन ।
निर्वाचन पराजयको राप सेलाउँदै जाँदा सभापति देउवा विरुद्धको आक्रोश पनि मत्थर हुँदै गयो । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने दावी गर्ने युवा नेताहरुले पार्टीको अर्लि महाधिवेशनको मुद्दा बाहिर ल्याए ।
सो विषय कांग्रेसमा केही महिना चर्चामा रहे पनि साढे ३ वर्षमा कांग्रेसको विशेष वा अर्लि महाधिवेशन होइन, नियमित महाधिवेशन समेत हुन सकेन ।
४ वर्षभित्र पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने विधानमा व्यवस्था रहेको छ । २०७६ सालको फागुनमै ४ वर्षे कार्यकाल गुजारेको कांग्रेसले विधानको विशेष व्यवस्थालाई टेक्दै १ वर्ष कार्यकाल बढायो । त्यसबीचमा महाधिवेशन गर्न कांग्रेसले मिति पनि तोक्यो तर पार्टीभित्रको आन्तरिक विवाद, क्रियाशील सदस्यता वितरण र कोरोना भाइरसको संक्रमणका कारण कांग्रेसको १४ औं महाधिवेशन हुन सकेन ।
महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता नवीकरण र वितरण कांग्रेसले २ वर्षअघिदेखि सुरू गरेको थियो तर हालसम्म सकिएको छैन ।
संगठन समायोजन, सदस्यता वितरणको काम नसकेको कांग्रेसले २०७७ फागुन ७–१० गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४ औं महाधिवेशन कोरोना भाइरसको संक्रमणलाई देखाउँदै स्थगित गर्यो । संवैधानिक व्यवस्थाको सहारा लिँदै कांग्रेस केन्द्रीय समितिको बैठकले २०७८ भदौ ७–१० गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गर्यो तर कोरोना भाइरसको दोस्रो लहर र आन्तरिक विवादका कारण पछिल्लो कार्यतालिका पनि पूर्ण रुपमा प्रभावित मात्र भएको छैन, भदौमा महाधिवेशन हुनेमा पनि संशय उत्पन्न भएको छ ।
पार्टीको वैधता कसरी जोगाउन सकिन्छ भनेर कांग्रेसभित्र छलफल र बहस जारी रहेका बेला कोरोना भाइरसको संक्रमणकै बीच भदौमै महाधिवेशन गर्ने पदाधिकारी र पूर्व पदाधिकारी सहितले समझदारी गरेका छन् । जेठ २९ गतेको बैठकले महाधिवेशनको अन्तिम मिति ९ दिन पर धकल्दै नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले भदौ १६–१९ गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी फेरि पछाडि सारिएको छ ।
केन्द्रीय कार्यसमितिबाट पारित नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिलाई सदस्यताको अन्तिम सूची असार २० गतेभित्र केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने जनाइएको छ । ४ लाख बढी नयाँ क्रियाशील सदस्यता थपेको कांग्रेसले असार २० गतेभित्र सदस्यता छानविन गरेर केन्द्रीय समितिमा पेश गर्न निकै कठिन रहेको छानविन समितिका एक सदस्यले बताएका छन् ।
२० दिनमा सदस्यता छानविन समितिले न्यूनतम प्रक्रिया पूरा गर्न पनि कठिन रहेको बताउँदै ती सदस्यले भने, ‘१ लाख बढीको सदस्यताका विषयमा प्रश्न उठेका छन् । त्यसलाई निरुपण गर्न सो समयमा कठिन छ ।’ तर सदस्यता छानविन समिति संयोजक रमेश लेखकले क्रियाशील सदस्यताका कारण पार्टी महाधिवेशन नरोकिने दाबी गरेका छन् ।
लेखकले छानविन समितिका असारभरको समय दिनुपर्ने प्रस्ताव बैठकमा राखेका छन् । केन्द्रीय समितिबाट अनुमोदन भएको क्रियाशील सदस्यतालाई सभापतिले प्रमाणित गरेर असार २४ गतेभित्र केन्द्रीय निर्वाचन कार्यसमितिलाई बुझाउन प्रस्ताव गरिएको छ ।
असार ६ गतेबाटै गाउँ, नगर, वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले त्यसलाई १ महिनाभन्दा पर धकेल्दै साउन १२ गतेबाट सुरू गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको क्रियाशील सदस्यतालाई सभापतिले प्रमाणित गरेर असार ३० गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने, साउन १२ गते वडाबाट अधिवेशन सुरू गर्ने प्रस्ताव गरिएको छ ।
स्थानीय तह (गाउँ र नगरपालिका) को अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा १ प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २३ गते र जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने तयारी छ ।
कुनै पनि राजनीतिक दलले साढे ५ वर्षभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार कांग्रेसले आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहे पनि कांग्रेस नेताहरु फेरि सारिएको मितिमा पनि महाधिवेशन हुनेमा ढुक्क छैनन् । ‘महाधिवेशन गर्ने अवस्था त छैन,’ एक नेताले भने, ‘तर त्यसको विकल्पमा उपयुक्त विकल्प पनि फेला परेको छैन ।’
महाधिवेशनको कार्यतालिका संशोधन गर्न बिहीवार बसेको बैठकमा केन्द्रीय सदस्य महेश आचार्य र शंकर भण्डारीलाई कम्युनिस्टहरुलाई विश्वास गर्ने अवस्था नभएको भन्दै निर्वाचनमा तालमेल गरेर जानेसम्मको निर्णयमा नपुग्न नेतृत्वलाई सचेत गराएका छन् ।
बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्टेट कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । मुलुकलाई अन्योल र अस्थिरतातिर धकल्ने प्रयास भइरहेको भन्दै कार्कीले मुलुकलाई दुर्घटनातर्फ धकल्ने प्रयास भएकाले कांग्रेस एक भएर त्यसको सामना गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, शिव हुमागाईं, गगनकुमार थापा सहितका नेताहरुले पनि आ–आफ्ना धारणा राखेका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।