काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शनिबार पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाँकेका छन् ।
सभापति देउवाले शनिवार दिउँसो २ बजे निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । भानुका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकुलताका बाबजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने भएको छ ।
आगामी भदौभित्र संविधानतः पार्टी महाधिवेशन गर्नैपर्ने बाध्यतामा कांग्रेस रहेको छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी रहेको छ ।
कांग्रेसले भदौ ७–१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको भए पनि हालसम्म कार्यतालिका अनुसार काम हुन सकेको छैन । असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका रहे पनि क्रियाशील सदस्यताकै विवाद समाधान भएको छैन ।
विधानको नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औं महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै १ वर्ष कार्यकाल थप गरिएको थियो । त्यतिबेला पनि महाधिवेशन हुन नसकेर संविधानको धारा २६९(४)(ख) अनुसार ५ वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर कांग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको हो ।
कांग्रेस सभापति देउवाले भदौमा महाधिवेशन गर्न प्रतिबद्ध रहेको सार्वजनिक वक्तव्यमार्फत नै जनाएका छन् । भोलिको बैठकमा महाधिवेशनबारे घनिभुत छलफल हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।