आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसका लागि एकैपल्ट दोहोरो खुसीयाली, नसोचेको भाग्य चम्किँदै

कांग्रेसका लागि एकैपल्ट दोहोरो खुसीयाली, नसोचेको भाग्य चम्किँदै

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 31.1K
    SHARES

  • कांग्रेसका लागि एकैपल्ट दोहोरो खुसीयाली, नसोचेको भाग्य चम्किँदै

    काठमाडौं – गत निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि नेपाली कांग्रेस ५ वर्ष नै प्रमुख प्रतिपक्षी दल बनेर बस्नुपर्नेमा ढुक्क थियो । कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउँदै पार्टी एकीकरणसम्म गरेकाले कांग्रेसको सरकार बन्ने कुनै सम्भावना देखिएको थिए । 

    तर एकाएक परिस्थिति फेरियो । कम्युनिस्टहरूका स्वार्थ नमिल्दा विवाद हुँदै पार्टी फुटकै अवस्था आयो । यस्तो अवस्थामा कांग्रेसको भाग्य चम्किएको छ ।

    कांग्रेसको भाग्य संघीय सरकारमा प्रधानमन्त्री बन्नेमा मात्रै सीमित छैन, एकैपल्ट दोहोरो भाग्य चम्किँदैछ । केन्द्रमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र गण्डकी प्रदेशमा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने देखिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन ३ दिने म्यादसहित आह्वान गरेपछि देउवा प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदबाट हटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी हुन् ।

    प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने संसद सदस्यलाई ३ दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा हस्ताक्षरि विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।’

    यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले संविधानको धारा ७६(२) अनुसारको सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न सार्वजनिक आह्वान गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस सोमबार विज्ञप्ति जारी गरी नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका थिए । राष्ट्रपति यी तीनै दलको मागअनुसार सरकार बनाउन आह्वान गरिसकेकी छन् । विपक्षी ३ दलबीच सभापति देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

    सोमबार प्रतिनिधि सभामा भएको मतदानमा ओलीविरुद्ध १२४ मत मात्रै परेको छ । तर नयाँ सरकार बनाउन १३६ मत आवश्यक पर्छ । सभापति देउवाको पक्षमा रहेको जसपा पूरै दल पक्षमा नआउँदासम्म बहुमत पुग्ने देखिँदैन ।

    सोमबारको मतदानमा जसपाको उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको थियो भने महन्थ ठाकुर पक्ष तटस्थ बसेको थियो । जसपा अध्यक्ष ठाकुरको लाइन अनुसार तटस्थमा १५ मत खसेको थियो । ओलीको विपक्षमा खसेको १२४ मत र महन्थ ठाकुर समूहको १५ मत जोड्दा १३९ मत पुग्छ । यसरी स्पष्ट बहुमत हुनजान्छ ।

    तर जसपाको ठाकुर पक्ष ओलीसँग नजिक रहेको चर्चा छ । ठाकुरले राखेका कतिपय माग अनुसार मधेशका मुद्दा फिर्ता गरिएकाले ठाकुरले नयाँ सरकार बनाउन सहयोग नगर्ने चर्चा छ । ठाकुरको सहयोग विना नयाँ सरकार बन्न सक्ने देखिँदैन ।

    यस्तो बेला एमालेकै माधवकुमार नेपाल पक्षका २८ सांसदले राजीनामा दिएर विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना समेत छ । नेपाल समूहका २८ सांसदले राजीनामा दिएको अवस्थामा संसदमा १२२ सांसद भएपनि बहुमत पुग्ने अवस्था हुने बताइन्छ । विपक्षी गठबन्धनमा सोमबारै १२४ मत पुगिसकेको छ । 

    सभापति शेरबहादुर देउवाले नेता नेपाल पक्षसँग पटक–पटक वार्ता गरिसकेको र ओलीसँग मिल्ने सम्भावना नभएकाले नेपाल पक्षका सांसदको राजीनामा गराएर भएपनि नयाँ सरकार बन्न सक्ने विपक्षी गठबन्धनको विश्वास रहेको छ । नेपाल पक्षका सांसदले आज सोमबारै राजीनामा दिने तयारी गरेपनि अन्तिममा राजीनामा रोकिएको थियो ।

    यस्तो छ गण्डकी प्रदेशको गणित !

    गण्डकी प्रदेशमा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईतवार राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ । मुख्यमन्त्री गुरुङले दिएको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(२) बमोजिम सरकार गठन गर्न ३ दिनभित्र समय दिएकी छन् ।

    संविधानको धारा १६८(२) मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने प्रावधान छ । ‘प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ धारा १६८(२) मा उल्लेख छ ।

    संविधानको व्यवस्था अनुसार गण्डकी प्रदेशमा अब गठबन्धन सरकार बन्ने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्‍याएर नयाँ सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । 

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा नयाँ सरकार बनाउन ३२ सांसदको समर्थन रहेको छ । गण्डकी प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी (जसपा) नेपालका २ गरेर ५९ सांसद छन् । त्यसबाहेक १ जना मनाङ जिल्लाको प्रदेशसभा (२) क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् । 

    मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ र स्वतन्त्र सांसद मनाङे गरेर २८ सांसद रहेका थिए । आफ्नो विपक्षमा स्पष्ट बहुमत देखिएपछि मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै आईतवार राजीनामा दिएका छन् ।

    गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा सरकार बन्ने देखिएको छ । नयाँ सरकारमा नेकपा माओवादी केन्द्र र जसपा सांसद मन्त्री बन्ने छन् । जनमोर्चा सरकारमा नजाने भएपनि नयाँ सरकारलाई समर्थन गर्ने भएको छ । यसरी नेपालको इतिहासमा पोखरेल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend