काठमाडौं – गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने बाटो खुलेको छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि भोलि सोमबार मतदान हुने १ दिनअघि आज आईतबार गुरुङले राजीनामा दिएका छन् ।
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको थियो । जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन गरेका थिए । कांग्रेसको मुख्यमन्त्री हुने अवस्थामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गर्ने जनाइसकेको छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्र्दै गुरुङले राजीनामा दिएको जनाएको छ । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेको उल्लेख छ ।
धारा १६८(२) दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन सकिने उल्लेख छ । कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री पोखरेलको पक्षमा स्पष्ट बहुमत पुगिसकेकाले कांग्रेसले मुख्यमन्त्री पाउने देखिन्छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।