काठमाडौं – गत निर्वाचनपछि लामो समय प्रमुख प्रतिपक्षी दल बनेर रहेको नेपाली कांग्रेस अब सरकारमा जाने तयारीमा रहेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको समर्थनमा प्रदेश सभामा विश्वासको मत पाएपछि नेपाली कांग्रेसलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् ।
नेपाली कांग्रेस र पार्टी ह्वीप विपरीत विश्वासको मत दिएका नेकपा एमालेका सांसदलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।
मुख्यमन्त्री शाहीले अबको १ हप्ताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी नेताहरूसँग छलफल अगाडि बढाएका हुन् । ‘प्रदेशको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ, मुख्यमन्त्रीज्यू संकटका बेला आफूलाई साथ दिने दल र नेताहरुलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी छलफलमा जुट्नुभएको छ,’ उनले भनिन् ।
प्रदेश सभामा अल्पमतमा परिसकेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षका ४ जना सांसदले विश्वासको मत दिएपछि माओवादीको सरकार जोगिएको थियो ।
चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनका लागि पनि मुख्यमन्त्रीले तत्कालै सरकार पुनर्गठन गर्न आवश्यक रहेको मुख्यमन्त्रीका समन्वय विज्ञ झक्क मल्ल बताएका छन् । ‘मुख्यमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा जुटिसक्नुभएको छ,’ उनले भने ।
कुन मन्त्रालय कुन दललाई दिने भन्नेबारे छलफल भइरहेको उनले बताए । ४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय मात्रै बनेको छ । जसमा १ जना सभामुख रहेका छन् ।
माओवादी केन्द्रका १२ सांसद भए पनि प्रदेश सभामा २२ मत प्राप्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।