काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना भाइरस संक्रमण रोकथाममा उदासिन भएर लापरवाही गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तातेको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको कोभिड–१९ अनुगमन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि ८ सुझाव दिएको छ ।
‘कोभिड–१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको व्यापक भष्टाचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो । कोभिड–१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरूमा देखिएका कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासिन भएका कारण अहिले फेरि कोभिड–१९ को संक्रमण फैलँदो छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अहिले संक्रमितको संख्या ह्वातै बढेको छ भने गम्भीर बिरामी भएर आईसीयूमा बस्नुपर्ने बिरामीहरूको संख्या र मृतकको संख्या पनि बढ्दो छ । भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको छ ।’
गम्भीर बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न कांग्रेसले माग गरेको छ । ‘अन्तर्राष्ट्रिय उडानबाट आउनेहरू र सीमा नाकाबाट आउनेहरूलाई व्यवस्थित चेकजाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ, ‘कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरूलाई लक्षित गरी पीसीआरको परीक्षण दायरालाई व्यापक गरियोस् ।’
कोभिड–१९ विरुद्ध आमजनतालाई खोप पुर्याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाउन र खोप आपूर्ति सुनिश्चित गर्न उच्च कूटनैतिक पहल गर्न कांग्रेसले माग गरेको छ । ‘स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ । स्वास्थ्यकर्मीहरूको बिमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरूको व्यवस्था तत्काल गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ, ‘पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।’
देशले फेरि लकडाउनको अवस्था धान्न नसक्ने भएकाले हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग कांग्रेसले माग गरेको छ । ‘समग्रमा कोभिड–१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘अन्तमा, कोभिडको कारण २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई अनिवार्य मास्क लगाउने, सेनेटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं ।’


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।