दुधौली (सिन्धुली) - सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेको वडा कार्यालयमा तपाई कुनै सेवा लिन जाँदै हुनुहुन्छ भने एकचोटि सोधीखोजी गरेर मात्रै जानु होला । नत्र तपाईले अनावश्यक दुःख र कष्ट पाउने निश्चित छ ।
किनभने अहिले सो वडा कार्यालयमा कोही पनि जनप्रतिनिधि भेटिँदैनन् । दुधौली नगरपालिका–२ एमालेले जितेको वडा हो । त्यहाँ जनप्रतिनिधि अहिले जनताको काममा होइन, व्यक्तिगत भ्रमणमा रमाइरहेका छन् ।
वडा नम्बर २ का वडाअध्यक्ष जनप्रतिनिधिका साथै सबैजसो कर्मचारी सेवा ठप्प हुने गरी भ्रमणमा गएपछि सेवाग्राही जनता मारमा परेका छन् । वडाले तय गरेको कृषि भ्रमणअन्तर्गत वडाध्यक्ष, सदस्य, कर्मचारीलगायत सबै गत बिहीबारदेखि घुमघाममा निस्केका छन् ।
साबिक हत्पते–३ भर्लेनीबाट कृषि प्राविधिक बोलाउन आएका कृषक ओम श्रेष्ठले दुईपटक वडा कार्यालय पुग्दा पनि जनप्रतिनिधि र प्राविधिक कर्मचारी नभेटेपछि फर्कनु परेको भन्दै दुखेसो पोखे ।
नागरिकताकोे सिफारिस र जन्मदर्ता लिन आएका अधिकारी दाजुभाइ पनि त्यत्तिकै फर्कनु परेको भन्दै आक्रोश व्यक्त गर्दै थिए । बारीमा रोपेको मकैमा किराले खान थालेपछि प्राबिधिक खोज्न आफै आएको, तर कसैलाई नभेटदा दुःख लागेको भन्दै एक वृद्ध स्थानीय सिफारिस लिन दोस्रोपटक वडा कार्यालय पुग्दा पनि कोही नभेटेपछि त्यत्तिकै फर्कन बाध्य भए ।
केही कर्मचारी र सहयोगीको भरमा रहेको कार्यालयबाट सिफारिस नपाउने भएपछि खाली हात फर्किन बाध्य भएको उनले गुनासो गरे । कार्यालय सहयोगीले न सिफारिस दिन मिल्छ, न उनको हस्ताक्षर चल्छ ।
सेवाग्राहीलाई वडा नम्बर २ को कार्यालय र नगरपालिकामा पठाउनेबाहेक कुनै काम थिएन उनको । ‘बिना सूचना कार्यालय नै बन्द गरेर भ्रमणमा गएछन्, भाइको नागरिकताको सिफारिस लिन दोस्रोपटक कार्यालय आउँदा पनि कोही भेटिएनन्,’ वडाध्यक्षहरु भ्रमणबाट फर्किएपछि सिफारिस लिनु भन्दै फर्काउने गरेका महिला सदस्य सुन्तली खड्काले बताइन् ।
वडा नम्बर २ का वडाध्यक्ष रितेश राउतले केही दिन भ्रमणको कार्यक्रम भएकाले शुक्रबार र शनिबार पारेर भ्रमण गएको बताए । ‘बिहिबार भ्रमणको तय गरेका हौं, शुक्रबार कार्यालय आधा खुल्छ, शनिबर बिदा नै हो, आइतबारदेखि कार्यालयका नियमित काम हुन्छ । आवश्यक पर्नेका लागि निमित्त राखेका छौं,’ वडाध्यक्ष राउतले फोनमा भने ।
तर, वडाध्यक्षले भने जस्तै निमित्तले केही कामचलाउ स्थानीय योजनाबाहेक कुनै पनि सिफारिसमा हस्ताक्षर गर्न नसक्ने वडा सदस्य सुन्तली खड्काले बताइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।