काठमाडौं – नेपाली कांग्रेसका क्षेत्रीय सभापति कर्ण थापा मगरले कम्युनिस्टले सपना बेचेर सत्ताको भर्याङ चढेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस दुधौली नगरपालिका–१३ ले शुक्रवार पार्टी प्रवेश र स्वागत कार्यक्रम वडा कार्यसमिति सभापति बिबिसिंह तामाङको सभापतित्वमा आयोजना गरेको थियो ।
अरुण ठाकुरको ठाकुरदमारमा गरिएको कार्यक्रममा ३६ जना विभिन्न पार्टीका नेता/कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सभापति थापाले भने, ‘कम्युनिष्टले सत्ता चलाउन त सकेनन् सकेनन्, राजनैतिक नैतिकता पनि देखाउन सकेनन् । हिजोको दिनमा संसद विघटन गरेपछि हरेक प्रधानमन्त्रीले राजीनामा दिएका थिए तर केपी ओली अझै लाज पचाएर प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बसिरहेका छन् ।’
‘विश्वको अधिनायकवादी शासकको लहरमा अब केपी ओलीलाई पनि देख्न सकिन्छ यति स्वेच्छाचारी र निरंकुश शासक संसारमा दुर्लभ छन्,’ थापा भन्छन् । नेकपा एमाले र माओवादी केन्द्रका विभिन्न भूमिकामा रहेका नेता/कार्यकर्ताले आफूहरूमा कम्युनिस्टको व्यवहारले लज्जित बनाएर पार्टी त्याग्न बाध्य भएको कार्यक्रममा बताएका थिए ।
नेकपा माओवादी केन्द्रबाट गत स्थानीय चुनावमा महिला सदस्यको उम्मेदवार बनेकी फणिन्द्र माया तामाङ भन्छिन्, ‘कम्युनिस्ट पार्टी र तिनका नेताले हामी जस्तो मान्छेलाई हतियारको रूपमा प्रयोग गरे, त्यसैले हामी पार्टी परित्याग गरेर एउटा सन्देश दिन चाहन्छौं – हामी सचेत छौं, हतियारको रूपमा प्रयोग हुदैनौं ।’
नवप्रवेशी माओवादी केन्द्र दुधौली नगर कमिटी सदस्य नेत्र तामाङले भने, ‘कम्युनिस्ट पार्टीले हाम्रो अमूल्य मत र विश्वासमाथि घात गरेर त्यसको विपरीत चलेको कारण अब हामी कम्युनिस्ट रहन सकेनौं । हामीलाई सपना देखाइयो र दुईतिहाइ शक्ति आर्जन गरेर सत्तामा पुगेपछि जुन कुर्सीको लडाइँ भयो एउटा नैतिकवान नेतृत्वलाई त्योभन्दा ठूलो लाज केही हुँदैन ।’

उनले अगाडि भने, ‘एउटा प्रधानमन्त्री जस्तो व्यक्ति यति अमर्यादित कसरी हुनसक्छ, त्यस्तो व्यक्ति कम्युनिस्ट सदस्य हुने कम्युनिस्ट पार्टीमा बसेर हामी हाम्रो मर्यादा जोगाउन सक्दैनौं भन्ने ठानेर हामी कम्युनिस्ट सदस्य लिएको पार्टी परित्याग गर्न बाध्य भएका हौं । भविष्यमा कांग्रेसले गरेको विगतका गल्ती सच्याएर संगठित र एकीकृत गतिविधि संचालन गर्नेछौं ।’
नेत्र तामाङका सहयोद्वा नगर कमिटी सदस्य कृष्ण तामाङले भने, ‘हाम्रो योगदानको कदर नगरेर कम्युनिस्टले जुन हर्कत गर्यो, त्यसले हामीलाई दुःख लागेको छ । मलाई कम्युनिस्टको नगर कमिटी सदस्य हुनुभन्दा कांग्रेसको साधारण सदस्य हुनुमा गौरव छ ।’
कम्युनिस्टले देशलाई पीडा मात्र दिएको नेपाली कांग्रेसका दुधौली नगर सभापति कुमार बस्नेतले बताएका छन् । बस्नेतले भने, ‘आफ्नै साथीको सम्मान नगर्ने कम्युनिस्ट नेताले जनताको समस्या समाधान गर्दैनन् । त्यसैले देशले कम्युनिस्टबाट मुक्ति पाएन भने जनताले हारिरहन्छन् ।’
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित मिलन सुनुवारले मन्तव्यमार्फत कांग्रेस परिवारका सदस्य भएका सबै नवप्रवेशी साथीलाई स्वागत गरेका थिए । वडाको चौतर्फी विकासमा समन्वय, सल्लाह, सुझाव र सहयोगको अपेक्षा रहेको समेत उनले बताए ।
‘हामीले गर्ने विकासको केन्द्रमा जनता हुन्छन्, व्यक्तिगत सत्ता र स्वार्थ हुँदैन,’ वडाध्यक्ष सुनुवार भन्छन्, ‘वडाबासी सन्तुष्ट भएर विकासको जुन अनुभूति गर्नुभएको छ, त्यो नै मेरो सफलता हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।