काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नै मुख्यमन्त्रीको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार बनाउने प्रयास सुरू गरेको छ ।
कांग्रेसले छलफल तताएपछि कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ ।
नेकपा माओवादी केन्द्रका २ मन्त्रीले बुधवार राजीनामा दिएसँगै नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य थालेको छ । त्यसका लागि कुमार खड्काको नेतृत्वमा वार्ता समिति समेत गठन गरिएको छ ।
‘नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) को निरन्तर बैठक बसिरहेको छ । आज शुक्रबार पनि हामी छलफलमै थियौं,’ संयोजक खड्काले भने, ‘३ वटै दलको एउटै एजेण्डा छ, यो सरकारको विकल्प खोज्ने । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेका छौं ।’ वार्ता समितिमा सांसदहरू मणिभद्र शर्मा कँडेल, डोबाटे विश्वकर्मा सदस्य रहेका छन् ।
माओवादी केन्द्रले साविकको नेकपा विभाजन हुँदा प्रचण्ड–माधव पक्षले बनाएको कार्यदललाई नै जिम्मा दिएको छ । त्यसबेला हरिबहादुर चुमान, गायत्री गुरुङ, इन्द्रलाल सापकोटा, दीपक कोइराला र रामजी बरालको कार्यदलमा रहेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्र पुनर्जीवित भएपछि माधवकुमार नेपाल पक्षका सापकोटा कार्यदलमा रहेका छैनन् । ‘अहिलेको सरकारको विकल्प जसरी पनि खोज्न एक ठाउँमा उभिएका छौं,’ समिति सदस्य बरालले भने, ‘सरकारको नेतृत्व कसले गर्ने, कहिले अविश्वासको प्रस्ताव लैजाने भन्ने छलफल भइरहेको छ ।’
जसपाका सांसद हरिशरण आचार्यले नयाँ विकल्पका साथ अगाडि बढ्न एमालेबाहेक सबै दल एकै ठाउँ आउने बताएका छन् । ‘अहिलेकै प्रतिगमनकारी सरकारलाई साथ दिने कुरा हुन्न, हामीले राम्रो क्यान्डिडेटलाई प्रस्ताव गरे राजमो पनि आउन तयार छ,’ उनले भने ।
कूल ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जसपाका २ प्रदेशसभा सदस्य रहेका छन् । नेकपा माओवादीका नेत्रनाथ अधिकारी सभामुख रहेका छन् । त्यसैले नयाँ सरकार बनाउन ३ दललाई ३ सिट भएको राष्ट्रिय जनमोर्चाको साथ अनिवार्य रहेको छ ।
सरकार टिकाउन मुख्यमन्त्री गुरुङले समेत जनमोर्चाकै साथ खोजिरहेका छन् । कृष्ण थापाले सरकारलाई सघाउने बताइरहेकाले अरुले भड्काउँदैमा नभड्किने मुख्यमन्त्रीको विश्वास रहेको छ ।
जनमोर्चा भित्रभित्रै विभाजित देखिएको छ । जनमोर्चाका कृष्ण थापाले केही निर्णय नगर्ने बताइरहँदा पियारी थापा र खिमविक्रम शाही सरकारको विपक्षमा उभिएका छन् । ‘मन्त्रीको लोभमा कुनै हालतमा सरकारमा जानु हुँदैन । कसैले अविश्वासको प्रस्ताव ल्याउँछ भने त्यसकै पक्षमा मतदान गर्छौं,’ सांसद थापाले भनिन्, ‘तत्काललाई समर्थन फिर्ता नलिने कुरा हो तर पदसँग प्रतिष्ठा साटिन्नँ ।’
जनमोर्चाका संसदीय दलका नेता थापाले पार्टीमा छलफल गरेर मात्र भन्न सकिने बताएका छन् । ‘अविश्वासको प्रस्ताव आइहाल्यो भने हामीले तत्काल निर्णय गर्छौं तर अहिले नै नबोलौं,’ थापाले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।