आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

अब कसरी बन्छ कांग्रेसको नेतृत्वमा सरकार ?

अब कसरी बन्छ कांग्रेसको नेतृत्वमा सरकार ?

  • मिडिया डबली
  • शनिवार, चैत्र २१ २०७७

  • 11.7K
    SHARES

  • अब कसरी बन्छ कांग्रेसको नेतृत्वमा सरकार ?

    काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।

    कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

    कांग्रेसको शुक्रवार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार संविधान र लोकतन्त्र मास्न उद्यत रहेको निष्कर्ष निकालेको छ ।

    ‘कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

    नेपाली कांग्रेस नयाँ सरकार गठनको रणनीतिबारे केही बोलेको छैन । कांग्रेसले विपक्षी दलहरु मिलेर अविश्वासको प्रस्ताव गर्नेबारे कुनै निर्णय गरेको छैन । संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न एकचौथाइ सांसद आवश्यक पर्छ । कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव दर्ता गर्न पर्याप्त संख्या पुग्दैन ।

    प्रवक्ता शर्माले अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे कुनै निर्णय नभएको बताए । ‘यसबारे हामीले निर्णय गरेका छैनौं,’ शर्माले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय भएकाले कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्न बाँकी नै छ ।’

    सर्वाेच्च अदालतले फागुन २३ गते नेकपा एकता बदर गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको थियो । त्यसपछि बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार गठनका लागि पार्टीले पहल गर्नुपर्ने निर्णय गरेको थियो । बैठकले सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो ।

    सभापति देउवाले जनादेश प्रतिपक्षमै बस्न भएकाले तत्काल सरकार गठनमा लाग्न नहुनेमै जोड दिँदै आएका छन् । देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताउँदै आएका छन् । पछिल्लो समय माओवादी केन्द्रले सत्तारूढ एमालेइतर दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भन्दै कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग औपचारिक छलफल गर्ने निर्णय गरिसकेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवा र जसपाका शीर्ष नेताहरुसँग पटक–पटक भेटवार्ता गरेका छन् । प्रचण्डले देउवालाई सरकारको नेतृत्व गर्ने गरी सत्ता समीकरण बनाउन पहलकदमी लिन पनि प्रस्ताव गरिसकेका छन् । देउवा भने ओलीको विकल्प खोज्नेबारे जसपाको निर्णयको पर्खाइमा रहेका छन् ।

    ‘जसपाले यो सरकारको विकल्पमा जाने निर्णय नै नगरी कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्न हतार गर्दैन,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले भने, ‘एमालेबाहेक दलहरु एकठाउँमा आउने अवस्था भयो र जसपाले संस्थागत रुपमै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेपछि कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छ ।’

    साउँदले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताएका छन् । उनका अनुसार कांग्रेसले ओली नेतृत्वको सरकार स्वीकार नगर्ने निर्णय गरेको छ ।

    जसपाभित्र सरकारप्रतिको दृष्टिकोणमा मतभेद देखिएको छ । पूर्व राजपा समूहका नेता ओलीसँगै मिलेर अगाडि बढ्नुपर्ने पक्षमा देखिएका छन् । पूर्व संघीय समाजवादीका अधिकांश नेता ओलीको विकल्प खोज्नुपर्ने अडानमा रहेका छन् ।

    जसपा विभाजित भएको अवस्थामा नयाँ सरकार गठनको पहल गर्नु आत्मघाती हुने देउवापक्षीय नेताहरुको विश्लेषण रहेको छ ।

    संसदको अंकगणित प्रस्ट नभएसम्म नयाँ सरकार गठनतर्फ देउवाको चासो देखिँदैन । देउवाले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै समयमा गर्ने गरी काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिने गरेका छन् । पार्टी विधानअनुसार प्रत्येक ४ वर्षमा गर्नुपर्ने महाधिवेशन ५ वर्षमा पनि हुन नसकेपछि समयावधि ६ महिना थप गरिएको छ । संवैधानिक व्यवस्थाको सुविधा उपयोग गरेको कांग्रेसले आउने भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको छ । देउवाले सरकारमा जानुभन्दा महाधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेको उनीनिकट नेताहरू बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend