काठमाडौं – नेपाली कांग्रेसमा नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल अगाडि बढेको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमवार पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो ।
पछिल्ला गतिविधि र धारणा हेर्दा कांगे्रसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । कांग्रेसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित भएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भएपनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए ।
‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ उनले भने ।
बैठकमा आगामी १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवरण विषयमा मात्रै छलफल भएको नेता रमेश लेखकले बताए । बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभएको पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको लेखकले बताएका छन् ।
‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ उनले बैठकपछि पत्रकारसँग भने । बैठकमा कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताबारे भएको प्रगतिबारे नेतृत्वलाई जानकारी गराएको छ । लेखक समितिका संयोजक रहेका छन् ।
लेखकले सोमवारसम्म ६९ जिल्लाले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण विवरण अनलाइन प्रणालीमा राख्न सुरू गरेको बताए । कांग्रेसले यसपटकदेखि सदस्यता विवरण जिल्लाबाटै अनलाइन प्रणालीमा राख्न सकिने गरी व्यवस्था मिलाएको छ ।
संयोजक लेखकका अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण विवरण अनलाइन प्रणालीमा राख्न सुरू गरिसकेका छैनन् ।
हालसम्म ६९ जिल्लाबाट ३ लाख ९२ हजार ७९४ क्रियाशील सदस्यताको नाम प्रणालीमा ‘इन्ट्री’ भएको छ । तीमध्ये २ लाख १२ हजार ५१९ जनाको नाम नवीकरणमा ‘इन्ट्री’ भएको छ भने १ लाख ८० हजार २७५ जनाको नाम नयाँ क्रियाशील सदस्यता लिनेका नाममा ‘इन्ट्री’ भएको छ ।
महाधिवेशन कार्यतालिकाअनुसार १ निर्वाचन क्षेत्र भएका जिल्लाले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका सबै तथ्यांक आज मंगलबार १० चैतभित्र केन्द्रमा पठाइसक्नुपर्ने तोकिएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।