काठमाडौं - सर्वोच्च अदालतका दुईवटा फैसलाले प्रधानमन्त्री केपी ओली अझ निरंकुश र शक्तिशाली बन्दै गएको देखिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भए पनि ठोस गतिविधि नगर्नु र नेकपा एकता खारेज भएर एमाले र माओवादी केन्द्र अलग अलग भए पनि बहुमतकै सरकार रहनुले ओलीको कुर्सी सुरक्षित देखिएको हो ।
ओलीलाई अल्पमतमा पार्न माओवादी केन्द्रले निर्णय गर्नुपर्ने हुन्छ । त्यसपछि उनले विश्वासको मत लिँदा आफ्नै पार्टीका केही सांसद अनुपस्थित भइदिए मात्र पनि ओलीको कुर्सी ढल्छ । यस्तो अवस्था भएकाले पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै ठोस कदम नचालेको हो ।
तर, कांग्रेस र सभापति शेरबहादुृर देउवामाथि ओलीविरुद्ध बोल्ड डिसिजन गर्न दबाब परिरहेको छ । त्यसैकारण कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउनेबारे ठोस छलफल हुने बताइएको छ । भोलि १० गते प्रतिनिधिसभा बैठक बस्ने भएकाले उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने एजेन्डा तय गर्न अघिल्लो दिन नै कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
वर्तमान सरकार ढाल्नेबारे समेत कांग्रेस नै निर्णायक हुने देखिएको छ । अविश्वास प्रस्ताव ल्याए पनि कांग्रेसलगायत अन्य असन्तुष्ट दलको ऐक्यबद्धताबिना असफल हुने भएकाले पनि अहिलेसम्म सरकार ढाल्न कुनै पनि दलले हिम्मत गर्न सकेका छैनन् ।
नेकपा विघटन भएर माओवादी र एमाले छुट्टिएपछि दलीय समीकणको खेल सुरू भएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन ।
जसले गर्दा कांग्रेस, माओवादी तथा जनता समाजवादीको गठबन्धनबिना सरकार ढाल्न र नयाँ बनाउन समेत असम्भव भएको छ । कांग्रेसको आजको बैठकमा ओलीलाई कसरी सत्ताच्यूत गर्ने र पार्टीभित्रका आन्तरिक विषय, महाधिवेशबारे र पछिल्लो समय विकसित राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।