चितवन – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशभरका नेता तथा कार्यकर्तालाई निर्वाचन तयारीमा लाग्न आह्वान गरेका छन् ।
कम्युनिस्ट पार्टीको विवादले अन्योलमा परेको राजनीतिलाई छाडेर पार्टी बनाउनतिर लाग्नुपर्ने देउवाले बताएका छन् ।
‘कम्युनिस्ट पार्टीको विवादलाई चासो नदिएर पार्टीलाई जनताको काममा सक्रिय बनाउनुपर्छ,’ सभापति देउवाले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा शनिवार चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा भने ।
देउवाले कम्युनिस्ट पार्टी भित्रको विवादको किनारा नलागेको भन्दै जनतालाई खुशी पारे मात्रै पार्टीले बहुमत ल्याउने बताएका छन् । ‘जनता मालिक हुन् देशका मालिक खुशी भए जिताइदिन्छन्, प्रधानमन्त्री बनाइदिन्छन्, रिसाए भने भोट नहालेर सजाय दिन्छन्,’ देउवाले भने, ‘सार्वभौमसत्ता सम्पन्न भनेको ठूलो शक्ति हो । जनताको घरमा वर्षको तीनपल्ट जानुस्, जनताले भोट हाल्छन् । भाषणमा भोट हाल्दैनन् ।’
देउवाले अड्डा अदालत, प्रहरी प्रशासनजस्ता विभिन्न स्थानमा पुगेर जनताको सुख–दुःखमा सहयोग गरेर मत जिते मात्रै भोट दिने बताएका छन् । अघिल्लो निर्वाचनको मितिले २ वर्षभित्र जसरी पनि निर्वाचन हुने भन्दै उनले त्यसका लागि अहिले नै जनताको घरमा पुग्न निर्देशन दिएका छन् ।
‘जनताले भोट नदिएर हामी हार्यौं, जनता मालिक हुन्, देशको,’ देउवाले भने, ‘जनताको घरदैलोमा पुग्नुस्, दुःख–सुखमा साथ दिनुस् । जनताको काम गर्नुस्, तब जनताले भोट दिनेछन् ।’
देउवाले माओवादीले समर्थन फिर्ता नलिएको र संसदमा कम्युनिस्ट सरकारकै बहुमत रहेको उल्लेख गर्दै त्यसमा ध्यान नदिन आग्रह गरेका छन् । ‘माओवादीले समर्थन फिर्ता लिएको छैन, संयुक्त सरकार छ । पार्टी अलग बनाए पनि प्रचण्ड ओलीकै बहुमत छ,’ देउवाले भने, ‘प्रचण्ड र ओलीजी र माधव नेपाल र ओलीजी कसरी अघि बढ्नुहुन्छ भन्ने झगडा छ, मधेशमा पनि झगडा छ । अर्काको घरको झगडाको कुरा गर्नुभन्दा भोट ल्याउनतिर लाग्नुस् ।’
पार्टीभित्रको मतभेद छाडेर लागे बहुमत ल्याउने उनले बताए । उनले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।