शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रधानमन्त्री बन्न किन हतारिएनन् शेरबहादुर देउवा ? यस्ता छन् भित्रि रहस्यहरू

प्रधानमन्त्री बन्न किन हतारिएनन् शेरबहादुर देउवा ? यस्ता छन् भित्रि रहस्यहरू

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 14.7K
    SHARES

  • प्रधानमन्त्री बन्न किन हतारिएनन् शेरबहादुर देउवा ? यस्ता छन् भित्रि रहस्यहरू

    काठमाडौं – ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार र लोभ गर्ने काम पनि छैन । पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार राजधानीमा पार्टी महिला विभागले आयोजना गरेको कार्यक्रममा दिएको धारणा हो यो ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएका बेला सर्वोच्च अदालतको फैसलाले २ दलबीचको एकीकरण बदर भई केपी ओली नेतृत्वको सरकार संकटमा परेको छ ।

    विधिवत रुपमा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव वा सरकारले विश्वासको मत लिनुपर्ने अवस्था नआए पनि सत्ता साझेदार माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । अर्कोतर्फ नेकपा एमाले भित्रकै एउटा समूह सरकारप्रति असन्तुष्ट छ ।

    यसरी ओली नेतृत्वको सरकार संकटमा परेको छ । नेपाली कांग्रेसको सहभागिता विना मुलुकले ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ । तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन ।

    नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरुले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरुको पूर्ण समर्थन रहेको पदाधिकारी बैठकमा बताएका छन् ।

    यसअघि पौडेलसहित संस्थापन इतर समूहका नेताहरु देउवा प्रधानमन्त्री हुँदा पार्टीको महाधिवेशनमा समेत प्रभाव पर्ने भन्दै उनलाई कुनै हालतमा रोक्नुपर्ने पक्षमा थिए । तर देउवाले प्रधानमन्त्रीका लागि पार्टी हतारिने पक्षमा नरहेको बताउँदै आएका छन् ।

    देउवाले आईतवार बारामा आयोजित कार्यक्रममा विगतमा मुलुकमा आइपरेका संकटको निकास कांग्रेसले दिँदै आएको बताएका छन् । अहिलेको संकटबाट मुलुकलाई निकास दिन कांग्रेस र आफू तयार रहे पनि हतार गर्ने पक्षमा नरहेको दोहोर्‍याउँदै उनले भने, ‘निकासका लागि सरकारको जिम्मेवारी लिन म तयार छु । तर हतार गर्ने काम छैन ।’

    के कांग्रेस नेतृत्वमा सरकार गठन हुने स्थिति नआएकाले देउवाले ‘पर्ख र हेर’को नीति लिएका हुन् ? उनी निकट नेताहरु देउवाको अहिलेको प्राथमिकता प्रधानमन्त्रीभन्दा पार्टी महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पनि कांग्रेस नेतृत्वमा पुग्ने रहेको बताउँछन् । सरकारतिर धेरै ध्यान दिँदा पार्टी सभापति बन्ने कुरा छायाँमा पर्नसक्ने बुझाइ देउवाको रहेको विश्लेषण सुनाउँदै एक नेताले भने, ‘नयाँ सरकार गठनका लागि परिस्थिति अझै परिपक्व भइसकेको छैन ।’

    सत्ता साझेदार माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छैन । सरकारमा सहभागी आफ्नो पार्टीका नेताहरुलाई फिर्ता हुन शनिवार आग्रह गरेको माओवादीले आईतवार मात्र औपचारिक पत्र पठाएको छ ।

    नेकपा एमाले भित्रको विवादले पनि नयाँ रुप लिएको छ । २ पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरसँगै एमाले फेरि विभाजनको सम्मुख पुगेको छ । एमाले भित्रको आन्तरिक विवादको टुंगो नलागी प्रधानमन्त्रीका लागि कांग्रेसले हतार गर्न नहुने बताउँदै देउवा निकट ती नेताले भने, ‘एमाले र माओवादीभित्रको विवाद कसरी अघि बढ्छ, सोहीअनुसार कांग्रेसले निर्णय गर्छ ।’

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा आफ्नो नेतृत्वको सरकार टिकाउने प्रयत्न जारी राखेका छन् । तर जसपाका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विपक्षमा देखिएका छन् । जसले गर्दा जसपा सिंगो रुपमा ओलीको पक्षमा उभिने सम्भावना कमजोर बन्दै गएको छ ।

    जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो एकातिर तथा भट्टराई र यादव अर्कोतिर उभिने सम्भावना उत्तिकै रहेको जानकारी दिँदै स्रोतले भन्यो, ‘भट्टराई र यादवबाट रेणुकुमारी यादव सहितको एउटा पक्ष छुट्टिने अवस्था आउन सक्छ ।’

    जसपा एकमत भएर ओलीको पक्षमा उभिए पनि एमाले भित्रकै विवादले बहुमत जुटाउन कठिन हुनेछ । त्यति मात्र नभएर कांग्रेसकै संस्थापन इतर समूहहरु पनि तत्काल पार्टी सभापति देउवा नेतृत्वमा सरकार गठन होस् भन्ने पक्षमा नरहेको स्रोतको दाबी छ ।

    ‘बाहिर सभापति देउवाले सरकारको नेतृत्व लिनुप¥यो भन्ने छ तर भित्रभित्र नबनिदिए हुन्थ्यो भन्ने नै छ,’ देउवा निकट एक नेताले भने, ‘ओलीको विकल्प देउवा नै हो तर सबै परिस्थितिको मूल्यांकन हुँदैछ ।’ 

    देउवासहित कांग्रेसको चाहना वर्तमान सरकारको विकल्प खोज्ने र सबै पक्षको सहमतिमा प्रतिनिधि सभाको नयाँ निर्वाचनमा जाने भएको एक नेताले बताएका छन् । 

    देउवाको नेतृत्वमा चुनावी सरकार गठन हुने दाबी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘कांग्रेसको नेतृत्वमा सर्वपक्षीय चुनावी सरकारको वातावरण भए मात्रै पार्टी सरकारमा जाने विकल्प प्रस्तुत हुनेछ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend