शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कांग्रेसको सर्वसम्मत निर्णय

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कांग्रेसको सर्वसम्मत निर्णय

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 11.6K
    SHARES

  • शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कांग्रेसको सर्वसम्मत निर्णय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरु सहमत देखिएका छन् ।

    पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रवार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा सबै एकमत देखिएका छन् ।

    ‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ । ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो,’ पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले भने, ‘त्यसका लागि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हाम्रो जोड हुन्छ । त्यो सम्भव छ कि छैन थाहा छैन ।’

    केन्द्रीय सदस्य गगन थापाले राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको बताएका छन् । ‘ओलीलाई चाँडो घर पठाउनु छ । सकिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर केपी शर्मा ओलीले जति पनि संविधानमा भ्वाङ पार्ने काम गर्नुभएको छ, त्यसलाई पुर्ने काम गर्नुपर्छ । अनि मुलुकलाई निर्वाचनमा लैजानुपर्छ,’ उनले भने, ‘सर्वाेच्च अदालतको आदेशपछि नेकपाले पाएको जनमत खारेज भएको छ । त्यसकारण अहिले जनादेश पाएको दल नै छैन । अब यस्तो अवस्थामा मुलुकलाई निकास दिने दायित्व कांग्रेसको काँधमा छ ।’

    नेपाली कांग्रेसले सम्भावित सत्ता समीकरणबारे शुक्रवारै जनता समाजवादी पार्टी (जसपा) सँग औपचारिक संवाद गर्‍यो । जसपाका नेताहरुले माओवादी केन्द्रलाई समेटेर ३ दल मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताएका छन् ।

    ‘उहाँहरुले माओवादी, जसपा र कांग्रेस मिलेर अगाडि बढ्नुपर्छ यसको नेतृत्व कांग्रेसले गरोस् भन्ने औपचारिक प्रस्ताव राख्नुभयो,’ ती नेताले भने, ‘तर कसरी अगाडि बढ्ने भन्नेमा अहिले नै ठोस निष्कर्षमा भने हामी पुगेका छैनौं ।’

    नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए यो सरकार अल्पमतमा पर्नेछ । त्यसलाई ध्यानमा राखी ओलीले सत्ता समीकरणबारे जसपासँग छलफल गर्न कार्यदल बनाएका छन् । जसपाले भने कार्यदल बनाए पनि त्यो सरकार निर्माणका लागि नभई आफूले उठाउँदै आएका मुद्दाको सम्बोधन गर्न भएको बताउँदै आएको छ ।

    जसपाले रेशम चौधरीको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा खारेजी र संविधान संशोधनको विषयलाई सम्बोधन गर्ने दलसँग सत्ता सहकार्य गर्न सकिने जनाएको छ । जसपाले यसका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग संवाद गर्ने निर्णय गरेको थियो ।

    कांग्रेससँगको संवादमा सहभागी जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना मुद्दाबारे कांग्रेस नेतृत्वलाई जानकारी गराएको बताए । ‘जेलमा रहेका राजबन्दी छाड्ने । नागरिकताको मुद्दा, संविधान संशोधनको विषयबारे हामीले कुरा राख्यौं,’ अध्यक्ष ठाकुरले भने, ‘यसमा उहाँहरुका कुरा सुन्यौं । कुनै निष्कर्षमा भने पुगेका छैनौं ।’

    ठाकुरले ओलीको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार गठन गर्ने विषयमा भने बृहत् छलफलको आवश्यकता औंल्याएका छन् । ‘हामी अब माओवादी केन्द्रसँग पनि छलफल गर्छाैं । त्यसपछि मात्रै एउटा निर्णयमा पुग्छौं,’ ठाकुरले भने ।

    ‘प्रतिनिधिसभा पुनर्स्थापनापछि अबको राजनीतिक निकासका लागि प्रमुख प्रतिपक्षी दलले अग्रसरता लेओस् भन्ने उहाँहरु (जसपा) बाट आयो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपा एउटै ठाउँमा उभिँदा उचित हुन्छ भन्ने धारणा जसपाका साथीहरुको थियो । आज साझा धारणा बनाउने प्रयास भयो ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा भने सत्ता समीकरणलाई लिएर अझै बोलेका छैनन् । जसपासँगको बैठकमा देउवाले अझै केही समय कुर्नुपर्ने बताएका थिए । तर देउवाले संविधान र लोकतन्त्र जोगाउन ओलीको विकल्प खोज्नु जरुरी रहेको बताएका थिए । प्रवक्ता शर्माले परिस्थिति थप परिपक्व बनोस् भन्ने चाहना कांग्रेसको रहेको बताएका छन् ।

    जसपाबाट अध्यक्ष ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो छलफलमा सहभागी रहेका थिए । कांग्रेसबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायत नेता सहभागी थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend