काठमाडौं – सत्ता सहकार्यबारे छलफल गर्न बसेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार अपराह्न बसेको कांग्रेस र जसपा नेताहरुबीचको बैठकले नेकपा माओवादी केन्द्रसँग समेत छलफल गर्ने निर्णय गरेको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरुसँग मिलेर जाने छलफल भएको भन्दै कुनै ठोस सहमति नभएको बताएका छन् । ‘मिलेर जाने विषयमा छलफल भयो । केही सहमति भएको छैन । बृहत छलफल गर्नुपर्ने आवश्यकता रहेको निर्णय भयो,’ ठाकुरले भने ।
अब माओवादी केन्द्रसँग समेत छलफल गर्ने ठाकुरले बताएका छन् ।
प्रधानमन्त्रीमा ठाकुरको नाम चर्चामा रहेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘यस्तो राम्रो खबर ! त्यसका लागि तपाईंलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज,’ उनले भने ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत शुक्रबारको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताएका छन् । शर्माले भने, ‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका कांग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरुको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौं ।’
अब कांग्रेसले अग्रसरता लिनुपर्नेमा जसपा नेताहरुबाट राय आएको शर्माले बताए । ‘थप परिपक्वताको प्रतिक्षा गर्नैपर्छ,’ उनले भने, ‘एकै धारणामा उपर्युक्त ढंगले सोच निर्माण गरेर अगाडि बढ्छौं ।’
यसअघि जसपा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यबारे छलफल गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।