काठमाडौं - प्रधानमन्त्री केपी ओलीले पुस ५ गते हठात रूपमा प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी यसको विरोध भयो ।
नेपाली कांग्रेसले पनि औपचारिक रूपमा ओली कदमको विरोध गर्यो । झन्डै दुई महिना लामो सडकमा विरोध प्रदर्शन गर्यो । तर यसबीचमा देउवाले सशक्त प्रतिवाद गर्न नसकेको, प्रधानमन्त्री ओलीसँग नरम भएको आरोप बेहोरे । त्यो पनि पार्टीभित्रैबाट ।
ओली कदमविरुद्ध सशत्तः प्रतिवाद गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्छ भन्ने कांग्रेसकै संस्थापनइतर पक्षको अडान रह्यो । तर, देउवाले सर्वोच्च अदालतको फैसला पर्खे ।
उनले कांग्रेस निर्वाचनमा जान पछि हट्न नहुने पनि बताए । तर, कांग्रेसमै यसको विरोध भयो । अन्तिममा सर्वोच्चले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदियो । देउवाले त्यो फैसलालाई हार्दिकतापूर्वक स्वीकार गरे ।
त्यही बीचमा नेकपा प्रचण्ड–माधव समूहले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ सरकार बनाउन प्रस्ताव राखे । तर, देउवाले स्वीकार गरेनन् ।
कांग्रेसकै अर्को पक्ष प्रचण्ड–माधव समूहको नेतृत्वमा सरकार बनाउन सकिने गरी अघि बढ्नुपर्ने बताउन थाले । तर, देउवाले नेकपा विभाजन नभएसम्म कांग्रेस सरकारमा जाँदैन, नेतृत्व पनि लिँदैन भनेर अडान राखे ।
फागुन २३ गतेको सर्वोच्चको फैसलाले नेकपा ऋषिराम कट्टेल र तत्कालीन एमाले र माओवादी केन्द्रकै अवस्थामा लगिदिएपछि कम्युनिस्ट विभाजन गर्ने रणनीति सफल भएको विश्लेषण गर्न थालिएको छ ।
हेर्दा अहिले ओली खेलाडी जस्तो देखिए पनि देउवाको तुलनामा होइनन् भन्ने स्पष्ट छ । किनभने दुई तिहाइ भनेका ओली र प्रचण्ड नै पार्टीविहीन बनेका छन् ।
आइतबार सर्वोच्च अदालतको आदेशले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता वैधानिकता नै खारेज गरिदिएको छ । निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र पार्टी अर्कैले दर्ता गरिसकेकाले २०७५ जेठ ३ गतेकै अवस्थामा राजनीति फर्किएको छ । तर, ओलीले नेकपा एमालेको बैठक बोलाउँछु भनेर घोषणा गरेका छन् । त्यो तत्काल सम्भव छ जस्तो लाग्दैन ।
फेरि पनि निर्वाचन आयोगले अर्को निर्णय गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ओली र प्रचण्ड मिलेर एकता सुरुदेखि नै गर्न नयाँ नाम राखेर आउनुपर्ने बताइसकेका छन् । यसले पनि ओलीलाई एमाले गठन गर्न त्यति सजिलो छैन ।
अब देउवाले कस्तो रणनीति अपनाउलान् भन्ने चौतर्फी चासो देखिएको छ । बुझिएअनुसार देउवा अझै केही समयसम्म मौन बस्नेछन् । सत्ताको खेलकुदमा लाग्न सक्ने छैनन् । ओली, प्रचण्ड र माधव नेपालबीच वारपार भएपछि देउवाले आफ्नो शरणमा आउने कम्युनिस्ट समूहलाई लिएर सरकार गठन गर्नेछन् । यो खेल अझै एक महिना जारी रहनेछ ।
नेपाली कांग्रेसले अहिलेसम्म केपी ओलीका विरुद्ध आउनसक्ने अविश्वास प्रस्तावबारे ‘उचित समयमा उचित नीति अख्तियार गर्ने’ सन्देश प्रवाहित गर्दै आइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।