काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई राजधानी काठमाडौं उपत्यका नछाड्न कडा निर्देशन दिएको छ ।
फागुन २३ गते बोलाइएको प्रतिनिधिसभा बैठकका लागि तयारी गर्न जुनसुकै बेला पनि उपलब्ध हुनुपर्ने भन्दै सांसदहरुलाई काठमाडौंमै रहन पार्टीले निर्देशन दिएको छ ।
प्रतिनिधिसभामा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रवार कांग्रेस संसदीय दलको बैठक राखिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले काठमाडौं बाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न अनौपचारिक रूपमै सांसदहरूलाई निर्देशन दिएका छन् ।
‘अहिले कतै नजानु जानै परे खबर गर्नु भनेर बालकृष्ण दाइले भन्नुभएको छ,’ कांग्रेसका एक सांसदले भने ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला बुधवार पूर्व सांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलि सभामा सहभागी हुन चितवन गएका छन् ।
पछिल्लो पटक नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेससामु प्रस्ताव राखेको छ । चितवनमै रहेका कांग्रेस शीर्ष नेताहरुबीच यस विषयमा छलफल समेत हुने स्रोतले जानकारी दिएको छ ।
संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरुलाई काठमाडौं नछाड्न अनौपचारिक रूपमा कांग्रेसले निर्देशन दिएको छ । प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद रहेका छन् भने विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बनमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।