बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

मझधारमा कांग्रेस ! जिल्ला नेताहरूको यस्तो सुझाव

मझधारमा कांग्रेस ! जिल्ला नेताहरूको यस्तो सुझाव

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 3.4K
    SHARES

  • मझधारमा कांग्रेस ! जिल्ला नेताहरूको यस्तो सुझाव

    काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद पुनःस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको मझधारमा उभिएको छ ।

    नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै अहिले ‘पर्ख र हेर’को नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ ।

    कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ । कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको ‘च्याँखे’का रुपमा पनि अथ्र्याइएको छ ।

    सांगठनिक रुपमा कमजोर कांग्रेसका लागि ‘सत्ता वा संगठन’ निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्ने छ । अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी कांग्रेस अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरूको छ ।

    ‘अहिले कांग्रेसले सरकारमा जान हतारो गर्नु हुँदैन,’ कांग्रेस दाङका पूर्व सभापति वीरकेशरी गौतम भन्छन्, ‘कांग्रेसले अहिले सत्ताभन्दा पनि संगठन बनाउनु जरुरी छ ।’

    कांग्रेसको सांगठनिक संरचना सन्तोषजनक देखिन्न । जिल्लामा पहिलो संविधानसभा निर्वाचनयता पाएको मतको आकडाले पनि कांग्रेसको सांगठनिक अवस्थाको चित्र प्रस्टै देखाइदिन्छ ।  

    पहिलो संविधानसभा निर्वाचनमा दाङमा कांग्रेसले ५७ हजार ३८१ मत प्राप्त गरेको थियो । यो मत कांग्रेसको जीतका लागि पर्याप्त भएन । तत्कालीन ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेस पराजित बन्यो । त्यसको ६ वर्षपछि भएको अर्को संविधानसभा निर्वाचनमा कांग्रेसले ६४ हजार ५८ मत पायो । त्यतिबेला जिल्लामा कूल मत १ लाख ७१ हजार ८८९ थियो । पहिलो संविधानसभा निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनको ६ वर्षको अवधिमा देखिएको कांग्रेसको यो मतान्तर सन्तोषजनक होइन । ६ वर्षको अवधिमा कांग्रेसले जम्मा ६ हजार ६७७ मत मात्रै बढाउन सक्यो । दोस्रो संविधानसभा निर्वाचनयताको ४ वर्षमा पनि कांग्रेसले सन्तोषजनक मत वृद्धि गर्न सकेन ।   

    २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले १९ हजार ४४३ मत मात्रै बढायो । पहिलो संविधानसभा निर्वाचनयता कांग्रेसले बढाएको मत संख्या २५ हजार ३२० मात्रै छ ।

    कांग्रेसको पक्षमा बढेको यो मत सन्तोषजनक नभएको तर्क राजनीतिक विश्लेषकहरूको छ । यसको प्रथम कारण भनेकै कांग्रेसले आफूलाई जनस्तरसम्म पुर्‍याउन नसक्नु हो । अहिले पनि कांग्रेस र मतदाताबीचको दूरी घटेको छैन ।

    आफूलाई परिमार्जनसहित गाउँसम्म पुर्‍याउनुपर्ने जिम्मेवारीबाट कांग्रेस पछि हटेको दाङका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे बताउँछन् । ‘कांग्रेसको भूमिका संगठन बलियो बनाउनेतर्फ केन्द्रित हुन सकेन,’ उनले भने, ‘अब पनि कांग्रेस सांगठनिक रूपमा बलियो भएर अघि बढ्न सकेन भने अझै उसका लागि घाटा छ ।’

    सत्तासीन नेकपामा देखिएको फुटबाट फाइदा लिनेभन्दा पनि कांग्रेसले आफूलाई सांगठनिक रुपमा बलियो बनाउन नसके आगामी निर्वाचन यात्रा पनि सहज नहुने नेताहरु बताउँछन् । त्यसैले अहिले कांग्रेसको ध्यान सत्ताभन्दा पनि संगठन निर्माणमा केन्द्रित हुनुपर्ने आवाज उठेको छ ।

    सत्ताकेन्द्रित मात्र भए कांग्रेसले ‘सत्ता लिप्सा’को आरोप खेप्नुपर्ने छ । यसबाहेक नेकपाको सरकारले अहिलेसम्म गरेका कामकारबाहीको जसअपजसको हिस्सेदार पनि कांग्रेस हुनुपर्नेछ । ‘कांग्रेस सहभागी हुने सरकारले जनहितका पक्षमा काम गर्न सकेन भने त्यसको मुख्य दोषी कांग्रेस नै हुनेछ,’ जिल्लाका एक पुराना नेताले भने, ‘अनि कांग्रेस पनि यस्तै त हो नि भन्ने मतदातामा पर्न जान्छ । जसले आउँदो चुनावमा फेरि घाटा पुग्ने छ ।’

    कांग्रेसले निर्वाचनबाट प्रतिपक्षमा बस्ने जनादेश प्राप्त गरेको छ । जनादेशअनुसार चले कांग्रेसप्रति मतदाताको साथ र समर्थन बढ्ने विश्लेषण जिल्ला तहमा हुने गरेको छ । ‘कमजोर संगठनलाई बलियो नबनाईकन सत्ता रोज्नु राम्रो हैन,’ कांग्रेसका ती पुराना नेताले भने, ‘अहिले संगठन निर्माणमा ध्यान दिन सके आगामी निर्वाचनबाट कांग्रेसलाई एकल सरकार सञ्चालन गर्ने जनादेश मिल्न सक्छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend