काठमाडौं - सर्वोच्च अदालतको यो फैसलापछि सबैभन्दा संकटमा नेपाली कांग्रेस परेको छ । सही समयमा सही निर्णय गर्न नसक्दा कस्तो हरिबिजोगको अवस्था बेहोर्नुपर्छ भन्ने बुझ्न नसक्दा कांग्रेसको यो अवस्था आएको छ ।
प्रतिनिधिसभा विघटनलाई लिएर दुई धु्रवमा विभाजित कांग्रेसलाई सर्वोच्चको फैसलाले एक ठाउँमा ल्याएको छ । अझै पनि केही समय नेपालको राजनीतिक अवस्था तरल नै बन्ने देखिन्छ ।
अब जनतामा कम्युनिस्ट सरकारप्रति भरोसा र विश्वास टुटेकाले ऐतिहासिक जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ । मुलुकलाई अब कुन बाटोमा लैजाने भन्ने नेकपाले होइन, कांग्रेसकै भूमिका र क्रियाशीलताले तय गर्छ ।
जनम्यान्डेटअनुसार सरकार चलाउन नसक्ने नेकपाले अब पनि सरकारको नेतृत्व लिन खोजेमा त्यो उपयुक्त नहोला । संसदको गणितमा भलै नेकपाका ओली र प्रचण्ड–माधव समूह बलियो होलान्, तर सरकार चलाउन नेकपा असफल प्रमाणित भइसकेको छ ।
त्यसैले अब कांग्रेसले धेरै विचार र धैर्यता अपनाउँदै अबको राजनीतिक अघि बढाउनुपर्ने जनआवाज छ । केपी ओलीले पुस ५ गते गरेको कदमको सशक्त प्रतिवाद गर्न नसकेको भन्दै आरोप खेपेको कांग्रेसका लागि सर्वोच्चको फैसला अग्निपरीक्षा नै बनेको नेताहरूले बताउन थालेका छन् ।
कांग्रेसले अब चाल्ने हरेक कदमले आगामी निर्वाचनमा उसको सफलता प्रतिविम्बित हुन्छ । किनभने अब दुई वर्ष पनि छैन निर्वाचन आउन । २०७९ सालमा प्रतिनिधिसभा हुने निश्चित छ ।
त्यसअघि स्थानीय तह र प्रदेश निर्वाचन हुने भएकाले कांग्रेसले जिम्मेवारीबोध भएर अघि बढ्नुपर्ने र युवालाई नेतृत्वमा ल्याउने कदम चाल्नुपर्ने हुन्छ । प्रतिनिधिसभा विघटनपछि दुई ध्रुवमा विभक्त भएको कांग्रेस अब एकढिक्का नबनी गुञ्जायसै छैन ।
किनभने ओलीमा अझै पनि राष्ट्रवादी बन्ने भूत सवार बाँकी छ । उनले हिन्दु धर्मलाई अंगाल्ने संकेत गरिसकेका छन् । त्यो नारा भजाएर आउने चुनावमा ओलीले अझै लोकप्रियता जनमत नबटुल्लान् भन्न सकिने अवस्था छैन ।
कानुनी रूपमा नेकपा विभाजन भइसकेको छैन । कुनै पनि समय दुवै फेरि एक ठाउँमा आउन सक्छन् । हिजो एमाले र माओवादी हुँदा काटाकाट मारामार गर्ने कम्युनिस्ट राज्यसत्तामा पुग्न पार्टी एक नै गरेका थिए । त्यसैले आगामी निर्वाचनसम्म कम्युनिस्ट मिल्ने सम्भावना धेरै बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।