काठमाडौं – नेपाली कांग्रेसले पार्टीको आगामी १४ औं महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानबिनलाई तीब्रता दिएको छ ।
कांंग्रेस केन्द्रीय कार्यसमितिको फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो ।
समितिमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।
समितिको शुक्रवार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याई क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरेको छ । निर्णयबमोजिम क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेबी) र गाउँपालिका/नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपिसहित विवरण केन्द्रमा पठाउनुपर्ने भएको छ ।
क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन समिति सदस्य ढुंगाना र परियारलाई प्रदेश नम्बर १ र २, घिमिरे र पौडेललाई बाग्मती र गण्डकी प्रदेश तथा गुरुङ र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ ।
समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा. प्रदीप पराजुली (प्राविधिकतर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ) लाई नियुक्त गर्ने निर्णय समेत गरिएको छ । कांग्रेस १३ औं महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव रिजालले फागुन ११ गते बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ ।
कांग्रेसको फागुन ६ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशन विक्रम संवत् २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेसले महाधिवेशनसँगै गाउँ/नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते कार्यतालिका निर्धारण गरिएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय कांग्रेसले छ ।
कांग्रेसले जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्पन्न गर्ने अवधि फागुन २८ गतेभित्र, क्रियाशील सदस्यता प्रकाशित गरी केन्द्रमा पठाउने अवधि आगामी चैत १० गतेभित्र तोकेको छ । नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले उजुरीउपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत २५ गते तोकिएको छ ।
केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी सूची तयार गरेर केन्द्रीय सभापतिलाई बुझाउने अवधि आगामी जेठ १७ गतेसम्म निर्धारण गरिएको जनाइएको छ ।
कांग्रेसले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको छ ।
कांग्रेसको संगठनमा महत्त्वपूर्ण मानिने क्रियाशील सदस्य संख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करीब ५ लाख रहेको र आगामी अधिवेशनसम्ममा नयाँ र नवीकरण गरी १० लाख हाराहारी पुग्ने केन्द्रीय सदस्य जीवन परियारले बताएका छन् ।
कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करीब १ लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिन लागेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।