काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा फागुन ५ गते दिउँसो २ बजे बस्ने बैठकमा दलको आगामी १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ ।
कांग्रेसले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका कोरोना भाइरस (कोभिड १९० संक्रमणको महामारीका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले केन्द्रीय महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका बनाएको थियो ।
फागुन ५ गतेको बैठकमा पनि महाधिवेशनको नयाँ मिति नतोकिने स्रोतले जनाएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले महाधिवेशनको नयाँ मिति तोक्न सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला कुर्ने भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनर्स्थापना नभई निर्वाचनमा जानुपर्यो भने भदौ पहिलो हप्ता महाधिवेशन हुनसक्नेबारे पार्टीमा छलफल भइरहेको छ ।
आगामी बैठकमा केन्द्रीय कार्यसमितिको समयावधि थप गरिने भएको छ । केन्द्रीय कार्यसमितिको समयावधि थप गर्दा कांग्रेस पार्टीको विधानानुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ । बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ ।
कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि ४ वर्षको हुने र असाधारण स्थितिमा बढीमा १ वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख गरिएको छ । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसको विधान अनुसार पार्टीको आगामी १४ औं महाधिवेशन फागुन २० गतेसम्म उद्घाटन गरिसक्नुपर्ने प्रावधान छ ।
कांग्रेसले कोरोनाको विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने भएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा ५ वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । विशेष परिस्थिति उत्पन्न भई ५ वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनेर समेत उल्लेख गरिएको छ ।
हालको महाधिवेशन कार्यतालिका अनुसार गाउँ र नगर वडा अधिवेशन गत पुस ६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस ८ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्ने हो । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि) पुस १३ गते, १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन गत माघ ६ गते र केन्द्रीय महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने कार्यतालिका अनुसार कांग्रेसले काम गर्न सकेन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।