काठमाडौं – नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङ नाकाले धेरै रसुवाली जनतालाई अवसर प्रदान गर्न सक्ने बताएका छन् तर नाका पूर्ण रूपमा सञ्चालन हुनुपर्ने उनको माग रहेको छ ।
नौकुण्ड गाउँपालिकास्थित आरुखर्क जुरेढुंगा युवा समाजद्वारा आयोजित सोनाम ल्होसार कार्यक्रममा उनले भने, ‘रसुवागढी–केरुङ नाका कहिले खुल्ने, कहिले बन्द हुने हुँदा यसको प्रत्यक्ष असर रसुवाली जनतामा परेको छ ।’
नाका प्रभावित हुँदा रसुवाली जनताको गरिखाने बाटो बन्द भएको, ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरू आज किस्ता तिर्न नसकेर गाडी नै बुझाउने अवस्थामा पुगेको बताउँदै उनले जसका कारण धेरैको रोजीरोटी गुमेको बताए ।
१ वर्षदेखि चिनियाँ भूभागमा रहेका गाडी र १ हजार बढी कन्टेनर र सामग्री के कस्तो अवस्थामा छन् भन्ने थाहा नभएको भन्दै उनले ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारीले आत्महत्या नै गरेको खबरले दुःखी बनाएको पनि बताए ।
जनप्रतिनिधिको हैसियतमा आफूलाई पूर्वाधार विकासको क्षेत्रमा राम्रो ज्ञान रहेको भन्दै उनले रसुवाका अरु जनप्रतिनिधिले पनि राम्रो सहयोग गरिरहेको भन्दै आभार प्रकट गरेका छन् ।
‘पूर्वाधारका विषयमा आउने दिनमा के गर्ने भन्ने कुरा मलाई राम्रोसँग ज्ञान छ, हामी विभिन्न भूगोलहरूमा सडक बाटाहरू बनायौं । अब त्यही बाटामा गाडी चढ्ने अवस्थामा रसुवाली दाजुभाइ तथा दिदीबहिनीलाई पुर्याउनुपर्छ भन्ने जमर्को हामीले लिएका छौं,’ उनले भने ।
कार्यक्रममा बाग्मती प्रदेश सांसद प्रेम तामाङ, उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्साल, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु साङ्बो घले, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ लगायतको उपस्थित रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।