काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि नेपाली कांग्रेस सडक आन्दोलनमा छ ।
कांग्रेसले देशभर चरणवद्ध, रचनात्मक र शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको छ ।
कांग्रेसले संसद विघटन विरुद्धको आन्दोलनलाई थप व्यवस्थित बनाउन प्रवक्ता विश्वप्रकाश शर्माले सबैलाई अपिल गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले आन्दोलनलाई शान्तिपूर्ण बनाउन समेत अपिल गरेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति –
विघटन विरुद्ध शान्तिपूर्ण आन्दोलनका पक्षमा,
विधि उल्लंघनको शृङ्खलाबद्ध प्रवृत्तिका विरुद्धमा ।
प्रतिनिधिसभा विघटन, त्यस विरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहण यी ३ वटा प्रश्नमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापकताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ । पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा नेपाली कांग्रेस र भ्रातृ संस्थाहरुबाट व्यापक सहभागिता साथ प्रदर्शन गरिएको छ भने भोलि माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शन पश्चात फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्व निर्धारित छ ।
सर्वसत्तावाद उन्मुख विघटनका विरुद्धमा जुटौं
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ । विघटन लगत्तै नेपाली कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको छ ।
जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं
नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरू र प्रवृत्तिविरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं । विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।
विधि विपरीतको प्रवृत्तिप्रति प्रस्ट विमति
संवैधानिक परिषद सम्बन्धि संविधानमा ब्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरुदेखि नै कुल्चिँदै आएको बिषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको छ । संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ । जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, सञ्चार तथा प्रचार विभाग

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।