काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले माघ २४ गतेको विरोध प्रदर्शन सफल पार्न सबैमा आह्वान गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार बसेको विभागको बैठकले संसद विघटनविरुद्ध पार्टी केन्द्रीय कार्यसमिति बैठकले तय गरेको विरोध प्रदर्शन सफल पार्न शुभेच्छुक संस्थाहरूलाई आह्वान गरेको छ ।
बैठकले पार्टीका १८ वटै शुभेच्छुक संस्थालाई माघ २४ गतेको विरोध प्रदर्शन र सभालाई सफल पार्न आह्वान गर्ने निर्णय गरेको विभागका संयोजक एनपी साउँदले बताएका छन् ।
‘आगामी माघ २४ गते हुन लागेको विरोध प्रदर्शनलाई सफल बनाउनका लागि पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरूलाई आह्वान गर्ने निर्णय भयो,’ संयोजक साउँदले भने ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले माघ २४ गते शुभेच्छुक संस्थाहरूलाई ओली सरकारविरुद्ध देशैभर सडकमा उतार्ने निर्णय गरेको थियो । विभागको बैठकले ६ वटा प्रदेशमा विभागका संयोजकहरू समेत तोकेको छ ।
बैठकले १ नम्बर प्रदेशमा झापाका दिपेन पाठक, २ नम्बर प्रदेशमा महोत्तरीका राजु उप्रेती, बागमती प्रदेशमा सिन्धुपाल्चोकका हरिदर्शन श्रेष्ठ, गण्डाकीमा बागलुङका गोविन्द शर्मा, कर्णालीमा कालिकोटका भावना शाही र सुदूरपश्चिममा कञ्चनपुरका मीनबहादुर सिंहलाई प्रदेश संयोजकको जिम्मेवारीमा नियुक्त गरिएको छ ।
लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी रिक्त राखिएको छ । बैठकले पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरूसँग समन्वय गर्ने जिम्मेवारीसहित विभागीय सदस्यहरूबाट संयोजक तोकेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।