काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।
शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताउँदै देउवाले यसबाट नै विद्यमान विसंगतिको अन्त्य हुने र राष्ट्रले दुरत्तर रूपमा विकास निर्माणका कार्यहरू गर्ने बताएका छन् ।
सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उनले बताए ।
विक्रम संवत् १९९७ देखि २०६२/६३ को जनआन्दोलन हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौं वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका उनले स्मरण गरे ।
नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, साहस, संकल्प र आदर्शलाई सम्मान गर्न हरेक वर्ष शहीद दिवस मनाइने गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।