काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेको कदमविरुद्ध नेपाली कांग्रेस आक्रामक बनेको छ ।
ओलीको असंवैधानिक कदमविरुद्ध भोलि बिहीबार नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने तयारी गरेको छ ।
कांग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार भोलि बिहीबार देशभर वडास्तरमा विरोध कार्यक्रम हुने जनाइएको छ । विरोध कार्यक्रमको पूर्वसन्ध्यामा एक अपिल जारी गर्दै सभापति शेरबहादुर देउवाले सबै कांग्रेस कार्यकर्ताको सक्रिय सहभागिताका लागि कडा निर्देशन दिएका छन् ।
‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७४३ वडाहरूमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ सभापति देउवाले भनेका छन्, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरूमा विरोध प्रदर्शन गरिसकेको छ ।
वडा स्तरीयको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन सभापति देउवाले सबैमा अपील गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।