काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपालीलाई भोलिका लागि तोकिएको विरोध कार्यक्रममा सहभागी हुन अपिल गरेका छन् ।
संसद विघटनको असंवैधानिक कदमविरुद्ध भोलि माघ ३ गते शनिबार कांग्रेसले देशभर हरेक स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय यसअघि नै गरेको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ,’ सभापति देउवाको अपिलमा उल्लेख छ, ‘पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् ।’
भोलि माघ ३ गते शनिबार ७५३ वटै स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रूपले सफल बनाउन देउवाले सबैमा अपिल गरेका छन् ।
‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ अपिलमा उल्लेख छ, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।