काठमाडौं – नेपाली कांग्रेस युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले आगामी चुनावमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमतको सरकार बनाउने बताएका छन् ।
मिडिया डबलीसँग कुरा गर्दै नेता महर्जनले कम्युनिस्टहरूको आचरण, जनतालाई गर्ने व्यवहार र कम्युनिस्ट भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा काण्डै–काण्डमा कम्युनिस्ट सरकार मुछिएर नेपाली जनताको मतलाई अपमान गरेको कारण अब नेपाली कांग्रेसप्रति जनता आकर्षित बन्दै गएका बताए ।
‘आउने निर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत आउँछ । तर यसका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरू एक भएर निर्वाचनमा लाग्नुपर्छ,’ नेता महर्जनले भने, ‘अहिले केही कांग्रेस नेताहरूलाई कम्युनिस्टहरूले पदको लोभ देखाइरहेको हुँदा त्यस्ता भ्रममा पर्नु हुँदैन ।’
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको लोभ देखाएर गिरिजा देशैभर चुनावी अभियान लाग्नुको साटो राष्ट्रपतिको लोभले घरमै आराम गरेर बस्नुको कारण पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस दोस्रो पार्टीमा खुम्चिन परेको महर्जनले बताए । ‘अहिले पनि पुष्पकमल दाहाल र माधव नेपालले कांग्रेस नेताहरूलाई कोहीलाई राष्ट्रपति, कोहीलाई प्रधानमन्त्री बनाउने जस्ता ललिपप देखाउने कार्य गरिरहेका विभिन्न सञ्चारमाध्यमा समाचार सुनिएका छन् । त्यस्ता झूटा आश्वासनमा पर्नु हुँदैन,’ नेता महर्जनले मिडिया डबलीसँगको कुराकानीमा भने, ‘अन्तिममा यी कम्युनिस्टहरूले गिरिजाबाबुलाई जस्तो झुक्याउने नै हो, कम्युनिस्टहरूले आफ्नो स्वार्थ पूरा गर्ने नै हो । पछि धोका दिने नै हो ।’
सर्वोच्च अदालतले मध्यावधि निर्वाचनलाई सदर गर्यो भने कांग्रेसले कुनै पार्टीसँग तालमेल नगरी एक्लै निर्वाचनमा जानुपर्ने उनले बताए । ‘यदि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरे जनताले कांग्रेस पार्टीलाई प्रतिपक्षको भूमिकामा राखेको हुनाले जनताको मागलाई सम्बोधन गरेर सशक्त रूपमा प्रतिपक्षको भूमिका निभाएर आउने निर्वाचनलाई लक्षित गरेर नेपाली जनातको मन जितेर अहिलेदेखि नै देशैभर संगठन विस्तारमा लाग्नुपर्छ,’ उनले भने, ‘हिजो राजा फाल्न सयौंको बलिदान दिएर सडक आन्दोलनमा लागेका नेपाली जनताहरू आज राजा आउ देश बचाउ भनेर सडक आन्दोलन गरिरहेका छन् । यसको प्रमुख कारक भनेको यी भ्रष्ट कम्युनिस्ट नेताहरुले कारण नै हो । अब यसको विकल्प भनेको कांग्रेसले आउने निर्वाचनमा दुईतिहाइ बहुमतका साथ सरकार बताएर नेपाललाई समृद्ध बनाउन कांग्रेस अगाडि बढ्नुपर्छ ।’
नेता महर्जनले केपी ओलीको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले गरेको चरणवद्ध आन्दोलनलाई नेपाली जनताले बलियो साथ दिइरहेको समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।