काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारको आन्दोलनमा सहभागी देशभरका नेता, कार्यकर्ता र जनतालाई बधाई दिँदै आभार व्यक्त गरेका छन् ।
‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावनालाई अभिव्यक्त गरेको छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेसको आयोजनामा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा भएको विरोध प्रदर्शनमा व्यापक रुपमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु ।’
प्रदर्शन सफल बनाउन अहोरात्र लागेका प्रदेशसभा क्षेत्रीय कार्यसमितिका साथीहरूसँगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकमा सभापति देउवाले बधाई ज्ञापन गरेका छन् ।
‘पुस १३ गतेको प्रदर्शनमा झैं आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत् सक्रिय भूमिका निर्वाह गर्ने विशेषतः युवा पंक्तिलाई विशेष बधाई ज्ञापन गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुर्याउने आदरणीय पत्रकार मित्रहरूमा नेपाली कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।