जनकपुरधाम – नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै राष्ट्रिय एकता अभियानले २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा बृहत् प्रदर्शन गरेको छ ।
जनकपुरधामको रेलवे स्टेसनबाट निस्केको सयौंको संख्यामा निस्केको रैली नगरको विभिन्नको परिक्रमा गर्दै जनक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी डलरको लालचमा दलाल नेताहरूको संघीयताको नाममा सनातन हिन्दूराष्ट्रबाट हटाई धर्मनिरपेक्ष बनाइएको आरोप लगाए ।
उनले भने, ‘हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दूधर्म, सभ्यता, संस्कृति र पहिचान माथिको प्रहार कुनै पनि हालतमा स्वीकार्य छैन । हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दू राष्ट्रका लागि अभियानमार्फत हाम्रो आन्दोलन जारी रहने छ ।’
अध्यक्ष यादवले संघीयताको नाममा हिन्दूराष्ट्रलाई समाप्त पार्दै मुलुकमा भ्रष्टाचारलाई समेत प्रश्रय दिएकाले भ्रष्टाचारमुक्त, विकासशील र हिन्दूराष्ट्रका लागि आन्दोलन जारी रहने बताए ।
कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साहले संघीयता अवसरबाट वञ्चित रहेका मधेशी, आदिवासी जनजाति, दलित पिछडिएको वर्गको स्तरोन्नति, विकासमा पहुँचका लागि भनेर ल्याइएपनि अहिले त्यसको ठीक उल्टो देखिएको बताए ।
उनले भने, ‘हिन्दूधर्म, सभ्यता र पहिचान समाप्त पारेर धर्मनिरपेक्षको नाममा ल्याइएको व्यवस्थादेखि मुलुकमा झन् भ्रष्टाचार र घुसखोरी मौलाउँदै गएकाले हाम्रो आन्दोलन संघीय गणतन्त्र सहितको हिन्दूराष्ट्रका लागि जारी रहने छ ।’
अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षको नाममा हिन्दूत्वलाई समाप्त पार्ने शासक वर्गको षड्यन्त्र अस्वीकार नहुने बताए । ‘यस्तो हामीलाई कतै बरदास छैन, मुलुकलाई हिन्दूराष्ट्र कायम गराउन हदैसम्मको आन्दोलनमा जानेछौं ।’
उनले हिन्दूराष्ट्रका लागि प्रदर्शन अहिले ट्रेलर मात्र भएकाले यसलाई अझ सशक्त बनाउँदै लैजाने बताए ।
यसअघि शुक्रबार राष्ट्रिय एकता अभियानले जनकपुरधाममै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेका थिए । सम्मेलनमार्फत मुलुकलाई संघीय गणतन्त्र सहितको हिन्दू राष्ट्रका लागि आन्दोलन सशक्त बनाउने निर्णय गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।