काठमाडौं - डा.राजन भट्टराई प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार हुन् । यिनी पहिले माधवकुमार नेपाल निकट थिए । भट्टराई ओली क्याम्पमा पछि आएका हुन् ।
यसअघि भट्टराई ०६६ जेठ ११ मा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार बनेका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा उनलाई तत्कालीन एमालेले समानुपातिक कोटाबाट सभासद् मनोनीत गरेको थियो ।
भट्टराईमाथि चिनियाँहरूलाई सूचना बेचेको आरोप लाग्दै आएको छ । यसअघि उनीमाथि आफ्नो पत्नीको नाममा संस्था खडा गरेर मित्रराष्ट्रविरुद्ध ‘जासुसी गरेको’ तथा ‘आर्थिक लाभ’ लिएको गम्भीर आरोप लागेको थियो ।
उनले १५ लाखमा नेपाल भारत सम्बन्धबारे गोप्य प्रतिवेदन चिनियाँ दूतावासलाई बुझाएको मिडियामा समाचार आएको थियो । गत पुस १२ गते आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौं नेतृत्वको टोली नेपाल आएको थियो ।
उनीहरू नेपाल आएकै दिन भट्टराई सुटुक्क राति १० बजे चिनियाँ दूतावास प्रवेश गरेको बुझिएको छ । उनले भारतीयको सूचना नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीलाई दिएको दाबी गरिएको छ ।
चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग त्यही दिन भेट भएको थियो । बेलायती दातृनिकाय डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट डिएफआईडीमार्फत करोडौंको विदेशी सहयोग लिएर नेपालको सुरक्षासम्बन्धी नीतिमा चलखेल गर्ने एनजीओहरूमा पूर्वसांसद तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईको संस्था अग्रणी रहेको सार्वजनिक भइसकेको छ ।
भट्टराई अध्यक्ष रहेको नेपाल नीति अध्ययन प्रतिष्ठान ‘निप्स’ ले डिएफआईडीमार्फत विदेशी सहयोग लिएर सुरक्षासम्बद्ध नीतिमा चलखेल गर्ने गरेको आरोप लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।