काठमाडौं – विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई धक्का लाग्ने गरी नयाँ मापदण्ड बनेको छ ।
कांग्रेसले अरू पार्टीबाट प्रवेश गरेका व्यक्तिलाई पार्टी संगठनमा प्रमुख पद नदिने भएको छ ।
हालै बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी समायोजन सम्बन्धी मापदण्ड बनाउँदै सर्वसम्मत रूपमा निर्णय गरेको छ ।
कांग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाका लगायत नेता/कार्यकर्ता प्रवेश गरेका थिए । गच्छदारलाई उपसभापति बनाएको कांग्रेसले यसअघि नै थापालाई सहमहामन्त्री बनाइसकेको छ । छिटफुट रुपमा अन्य पार्टीबाट समेत नेता कार्यकर्ता प्रवेश गर्ने गरेका छन् ।
अन्य विभिन्न पार्टी छाडेर आएकालाई कांग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनेको थियो । समितिको सिफारिसअनुसार केन्द्रीय समितिले समायोजनको मापदण्ड तयार गरेको छ ।
कांग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई क्रियाशील सदस्यता दिन सकिने मापदण्ड पनि बनाएको छ । ‘कांग्रेसमा प्रवेश गरेका र सम्बन्धित जिल्लामा केन्द्रबाट पठाइएका र पठाउने प्रक्रियामा रहेका नामावली टुंगो लगाई सम्बन्धित व्यक्तिले वडामा क्रियाशील सदस्यता फारम भरी तहगत सिफारिस सहित समायोजनको कार्य सम्पन्न गर्ने,’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा भनिएको छ ।
कांग्रेसले अरू दलबाट कांग्रेस प्रवेश गरेकालाई प्रमुख पद नदिने पनि प्रस्ट पारेको छ । ‘अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई पार्टीको सांगठनिक संरचनामा समायोजन गर्दा प्रमुख पदबाहेक अन्य पदमा समायोजन गर्ने,’ केन्द्रीय समितिको पुस १९ गतेको बैठकका निर्णयमा उल्लेख छ ।
अरू पार्टीबाट आएकालाई क्रियाशील दिनुअघि कांग्रेस जिल्ला सभापति, सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, नगर/गाउँ सभापति, वडा सभापतिले र कांग्रेसमा प्रवेश गरी केन्द्रबाट समायोजन गरिएका साविकको पार्टीको जिल्ला, क्षेत्र, प्रदेश, नगर/गाउँ, वडा तहको आधिकारिक प्रतिनिधिसँग बैठक गरी टुंगो लगाउने निर्णय भएको छ ।
‘यसरी टुंगो लगाउँदा अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका त्यस्तो राजनीतिक दलका क्रियाशील सदस्यहरूको कांग्रेस केन्द्रीय कार्यालयबाट त्यस जिल्लामा पठाइएको नामावलीहरूलाई टुंगो लगाउनुपर्नेछ,’ परिपत्रमा उल्लेख छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ मसान्तभित्र क्रियाशील वितरण र नवीकरणका काम गरिसक्न जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिले निर्देशन समेत दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।