काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको कुशासनविरुद्ध देशव्यापी आन्दोलन गर्न निर्देशन दिएको छ ।
अध्यक्ष जित जङ्ग बस्नेतले देशभर परिपत्र गर्दै आन्दोलनका कार्यक्रमबारे निर्देशन दिएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेस पार्टीले तपसिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरू गर्ने भएकाले विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न/गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्रमार्फत निर्देशन गर्दछ,’ परिपत्रमा उल्लेख छ ।
कांग्रेसले आगामी पुस २५ गते शनिवारका दिन ३३० प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने, माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने र माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकहरुमा ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।