काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ। २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ।
आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो।
त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए। तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए।
कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। यसपटक कांग्रेसले राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने जनाएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।