काठमाडौं – नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आगामी पुस १९ गतेसम्म स्थगित गर्ने निर्णय भएको छ ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि उत्पन्न परिस्थितिका विषयमा धारणा बनाउन बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने तयारीमा लाग्न स्थगित गरिएको छ ।
कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकबाटै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक, अधिनायक आकांक्षाबाट प्रेरित तथा अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकमा पुग्दा आन्दोलन घोषणा गरेको थियो ।
आगामी पुस १३ गते देशभर सांकेतिक विरोध गर्ने घोषणा गरेको कांग्रेसले त्यसबेलासम्म सर्वोच्च अदालतको फैसला आउने र त्यसपछि आवश्यक निर्णय गरेर चुनाव वा आन्दोलनको बाटो रोज्ने तयारी गरेको थियो । तर सर्वोच्चको फैसला कुर्न पुस २२ गतेपछिको अवस्था आउने देखेपछि बैठक स्थगित गरिएको छ ।
कांग्रेसले पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेर पुस १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने जनाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘आगामी पुस १३ गते सरकारको असंवैधानिक र अधिनायकवादी निर्णयविरुद्ध विरोध प्रदर्शन गर्ने गरी आगामी पुस १९ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।’ केसीले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम भएकाले नेताहरूले स्वविवेकले आ–आफ्ना निर्वाचन क्षेत्रमा जाने वा अरुलाई परिचालन गर्ने निर्णय स्वविवेकले लिने जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।