काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि अन्य दलसँग मिलेर आन्दोलन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको बैठकमा आन्दोलन छाडेर चुनावमा जानुपर्ने आवाज उठेको छ ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्यहरू एनपी साउँद र नारायण खड्काले चुनावमै गएर कम्युनिस्टहरूलाई ठीक पार्नुपर्ने तर्क गरेका छन् ।
कम्युनिस्टको झगडा चल्दा संसद विघटन स्वाभाविक भएकाले अब कांग्रेसले चुनावमा केन्द्रित हुनुपर्ने नेता साउँदले बताए । यसअघि कांग्रेसले पनि आफ्नै बहुमतको सरकार हुँदाहुँदै संसद विघटन गरेर मध्यावधि चुनावमा गएको स्मरण गर्दै नेताहरूले अहिले पनि चुनाव नै अबको बाटो भएको दाबी गरेका छन् ।
नेता खड्काले पनि आवेशमा सडक आन्दोलनमा गएर अलपत्र पर्न नहुने विचार बैठकमा राखेका छन् । ‘सडकमा जाँदा लक्ष्य के हुने ? बिना योजना सडकमा जान हुँदैन । सडकमा गए पनि हामीले भने जस्तो नहुन सक्छ । हामीले पनि विघटन गरेका हौं । त्यसैले जनतामा जाने हो । त्यसका लागि तयारी गरौं,’ उनले भने ।
सरकारको निर्णयले संविधान घाइते भएकाले त्यसलाई चुनावबाट सच्याउनुपर्ने नेता खड्काले बताए । ‘घाइते संविधान बचाउन चुनावमा जानुपर्छ । चुनाव हुँदैन भनेर बस्नु हुँदैन, गराउने वातावरण बनाउनुपर्छ । नेतृत्वले क्षमता देखाउनुपर्छ । बेस्ट अप्सन नै चुनाव हो,’ खड्काले भनेका छन् ।
मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ५ जनाले मात्र बोलेका थिए । बैठकको शुरूवात गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निरंकुशतातर्फको यात्रा भनेर टिप्पणी गरेका थिए ।
सोमवार सर्वदलीय बैठक भएको जानकारी दिँदै सभापति देउवाले पार्टी कसरी अघि बढ्नु उपयुक्त हुन्छ भन्दै केन्द्रीय सदस्यसँग सुझाव मागेका थिए । देउवापछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने सरकारको निर्णयको सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए ।
पौडेलले कांग्रेसले अभिभावकको भूमिका खेल्नुपर्ने अवस्था आएको तर त्यो भूमिका सजिलो नभएको पनि बताएका थिए । कसैले सत्ताको लोभ देखाएमा त्यसको पछि लाग्न नहुने पौडेलको सुझाव छ ।
नेता पौडेलले ओलीको असंवैधानिक कदम सच्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने र नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने आशय व्यक्त गरेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
केन्द्रीय सदस्य महेश आचार्यले संविधानले संसद र सरकार दुबैको स्थायित्वको व्यवस्था गरेको अवस्थामा संसद विघटनको निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक भएको धारणा राखेका थिए । उनले देशैभर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चलाउनुपर्ने सुझाव बैठकमा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।