काठमाडौं – ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज सोमवार कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभर शक्ति प्रदर्शन गर्न लागेको छ ।
७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ ।
प्रदर्शन प्रभावकारी बनाउन काँग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन् ।
अपिलमा उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा आग्रह गरेका छन् । अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा काँग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रिनुपरेको उल्लेख गरेका छन् ।
‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ अपिलमा उल्लेख छ ।
देउवाले अपिलमा ‘नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलाएको समेत जनाएका छन् । ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो, नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वभाविक हक हो, अतः नेपाली काँग्रेसले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिनुछ,’ अपिलमा उल्लेख छ ।
कोरोना कहरबीच जनता मर्दै गर्दासमेत स्वास्थ्य सामग्री खरिदमा सरकार भ्रष्टाचारमा लिप्त भएको, सबै अधिकार आफैंमा केन्द्रित गरेर जनविरोधी निर्णय गर्दै प्रधानमन्त्री अघि बढेको, महिला हत्या तथा हिंसाका घटना बढेको अपिलमा जनाइएको छ ।
‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफभन्दा गैरजिम्मेवार जवाफ के हुनसक्छ ?’ अपिलमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।