काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित मिति आगामी फागुनमै हुने भएको छ । कांग्रेसले यसअघि नै २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिसकेको छ ।
महाधिवेशनको मिति पर सार्दा विभिन्न झमेला आइपर्ने भएकाले सभापति शेरबहादुर देउवाले फागुनमै गर्ने गरी तयारी अघि बढाउन निर्देशन दिएका छन् ।
यसअघि कोरोना भाइरसलाई देखाउँदै कांग्रेस महाधिवेशन सर्न सक्ने आकलन गरिएको थियो । यदि नेकपामा विवाद उत्पन्न भई विग्रह भएमा तथा मुलुक अली निर्वाचनमा गएमा त्यसका लागि तयार भएर बस्नुपर्ने भएकाले पनि कांग्रेसको महाधिवेशन नसर्ने उच्च स्रोतले जनाएको छ ।
कांग्रेसमा उपसभापति विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलालगायतका नेता महाधिवेशन सार्नुपर्ने पक्षमा छन् । कांग्रेसको महाधिवेशन सार्दा कतै मुलुक आमनिर्वाचनमा होमिने अवस्था आएमा कोरोनालाई बहाना बनाएर कम्युनिस्टहरूले सत्ता लम्ब्याइरहेमा कांग्रेसलाई नैतिक संकट आइपर्ने देखिएकाले पनि कांग्रेसको महाधिवेशन फागुनमै गर्ने मनस्थितिमा देउवा पुगेको बताइन्छ ।
आगामी वैशाखपछि मुलुकमा जुनसुकै बेला पनि स्थानीय तहको निर्वाचन घोषणा हुन सक्छ । नेकपामा अहिले देखिएको विग्रह सो पार्टीको महाधिवेशनसम्मै लम्बिने र विवादकै कारण जतिबेला पनि प्रदेश र संघीय संसदको निर्वाचन घोषणा हुने अनुमान सभापति देउवाले गरेको एक कांग्रेस नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।