काठमाडौं- नेपाली कांग्रेसका पार्टी सभापति शेरवहादुर देउवाले पार्टीको विधान विपरीत गम्भिर किसिमका निर्णयहरु गरेको भन्दै तत्काल सुधार गर्न केन्द्रिय सदस्य महेश आचार्यले सुझाव दिएका छन् ।
नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्यसमते रहेका आचार्यले विभाग गठन लगायतका पार्टीको समायोजन,कृयाशिल सदस्यता सम्बन्धीका निर्णयहरु पार्टीको विधान विपरीत रहेको बताएका हुन् ।
मुख्य जिम्मेवार एवं धरोहर व्याक्तिले नै गम्भिर विवाद सिर्जनागर्ने ढंगका निर्णय गर्नु अनुचित रहेको बताउँदै उनले तुरुन्तै सच्याएर सम्पुर्ण पार्टीपंक्तीलाई एकताबध्व गराएर महाधिवेशनतर्फ लैजान अनुरोध गरेका हुन् ।
नेता आर्चायले सभापति देउवलाई दिएका ६ बुँदै सुझाव यस्ता छन्:
१- नेता आचार्यले हाल देउवाले गठन गरेका विभाग पार्टीको विधान विपरित रहेको पष्टि गरेका छन् । 'हाम्रो विधानको दफा ६० ले पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग समिति एवं विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिना भित्र गठन गरि सक्नु पर्ने बाध्यकारी व्यवस्था गरेको छ।
तर, आफ्नो ४ बर्षको कार्यकालमा गठन नगरिएको विभाग विशेष परिस्थिति देखाइ महाधिवेशन सम्पन्न गर्न थपिएको एक वर्षको पनि आधा अवधि गुजारेर महाधिवेशनको मुखमा गठन गर्नु विधानको भावना र मर्मको गम्भिर उल्लंघन हो ।' नेता आचार्यले भनेका छन् ।
२- त्यस्तै उनले विभागको कार्यसम्पादन अवधिको विषयमा समेत दृउवाले गम्भिर त्रुटि गरेको स्पष्ट पारेका छन् । नेता आचार्यले विधानको दफा ३७(१) ञमा विभागले प्रत्येक ६ महिनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्ने व्यवस्था रहेको उल्लेख गरेका छन् ।
'तर, ६ महिनाको कार्यकाल पनि बाँकी नहुने अहिले गठन गरिएका विभागले महाधिवेशनको तिव्र चटारोमा कहिले आफ्ना कार्ययोजना बनाउलान र कहिले देशको समसामयिक मुद्दामा छलफल गर्लान, कहिले आफ्ना सुझाव र प्रगति प्रतिवेदन केन्द्रीय समितिलाई देलान अनि म्याद गुज्रिएको केन्द्रीय समितिले कहिले सुझाव कार्यान्वयन गर्ला ?' भन्दै उनले जायज प्रश्न उठाएका छन् ।
नेता आचार्यले भनेका छन्, 'कुराको हेक्का नराखी गठन हुने विभागले संगठन बलियो हैन, पार्टीभित्र विवाद र गुटबन्दीलाइ उत्कर्षमा पुगाउछ। हाम्रो पार्टीका हज्जारौं साथीलाई र तिन्को प्रतिभालाई गुटबन्दीको स्वार्थ र दलदलमा नचाहँदा नचाहँदै फसाउनेछ।'
३- 'त्यस्तै विधानको दफा २४(३) ले विभागको कामको समीक्षा गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाइ दिएको स्पष्ट छ । तर दुर्भाग्यवस सभापति जी ले कार्यसम्पादन समिति समेत बनाउन सक्नु भएको छैन। विभाग गठन हुने तर विभागको कामको समीक्षा गर्ने अधिकार पाएको समिति नहुने अवस्था के संगठन बलियो बनाउने संकल्प मान्न सकिन्छ र ?
४- विधानको दफा ४(१०) ञ ले महाधिवेशनको ६ महिना अघि कृयाशिल सदस्यता पाएको र नविकरण गरेको सदस्यले मात्र महाधिवेशनमा मतदान र उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ।
विधानको दफा ५०(६)मा पनि महाधिवेशन भन्दा ६ महिना अघि नै कृयाशिल सदस्यता र नविकरण गरेकाले मात्र उम्मेदवार हुन पाउने कुरासँगै महाधिवेशनको ६ महिना अघि नयाँ कृयाशील सदस्यता वितरण र नविकरणको काम बन्द गर्ने व्यवस्था गरेको छ।
यी दुवै व्यवस्थाद्वारा विधानले पार्टी पदाधिकारीलाइ महाधिवेशनको मुखमा आफुखुसी सदस्यता वितरण र नविकरण गरी महाधिवेशनलाइ प्रभावित पार्न सक्ने संभावनाबाट रोकेको छ।
विधानमा यो व्यवस्था त्यसै आएको होइन पुराना अनुभवका कारणबाट आएको हो। यसरी विधानले महाधिवेशनको मुखमा कृयाशिल वितरण र नविकरण जस्ता संगठनका आधारभुत कार्यलाइ समेत रोकेर महाधिवेशनको निस्पक्षता प्रत्याभुत गर्न चाहेको मर्म विपरीत तोकिएको काम गर्ने समय र संभावना नै नभएको अवस्थामा हज्जारौंको संख्यामा साथीहरुलाइ विभाग र समितिमा गरिएको नियुक्तिको वैधता र ओैचित्य कसरि पुष्टि हुन सक्छ ?'
नेता आचार्यले अघि भनेका छन्, 'आदरणीय सभापति जी, यस वाहेक जुन महाधिवेशनले तपाईंलाइ सभापतिमा निर्वाचित गर्यो त्यही महाधिवेशनले निर्वाचित गरेको महामन्त्री, कोषाध्यक्ष र ठुलो संख्यामा केन्द्रीय सदस्य असहमत हुदा हुदै गरिएको निर्णयको सांगठनिक महत्व र प्रभावकारिता कति होला ?'
५- नेता आचार्यले पाचौं बुँदामा भनेका छन्, 'हाम्रो विधानको दफा ५१ (१) ले महाधिवेशनमा निर्वाचित सभापतिले ४० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था छ। तर, विचारणीय कुरा के छ भने, यहीँ दफाले यस्ता प्रतिनिधिको कार्यकाल नयाँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भएपछि स्वतस् समाप्त हुने व्यवस्था गरेको छ।
यो प्रावधानको आशय पनि सभापतिद्वारा मनोनित प्रतिनिधिबाट निर्वाचन प्रभावित नहोस भन्ने नै हो।'
६- 'पार्टी विधानको दफा ५०(८) का अनुसार पार्टीको कुनै पनि तहको सभापतिको मृत्यु भई वा राजीनामाका कारण पद रिक्त भएमा कार्यवाहक सभापति बनाउने र ६ महिना भित्र अधिवेशनद्वारा सभापति चयन गर्ने विधि छ।
तर, महाधिवेशनको प्रक्रिया प्रारम्भ भएको अवस्थामा भने सभापतिको चुनाव समेत गर्नु पर्दैन, गर्न मिल्दैन र नयाँ महाधिवेशनले नै सभापति चुन्छ।
नेता आचार्यले साभपति देउवाबाट भएका गम्भिर गल्तीमाथि सुधारको आग्रह गर्दै भनेका छन्, आदरणीय सभापतिजी, महाधिवेशनको प्रक्रिया सुरु भएपछि माथी उल्लेखित विधानले गर्न रोकेका काम, विभिन्न निकायको कार्यकाल सम्वन्धी व्यवस्था र निस्पक्ष निर्वाचनका मान्यताहरुको पालना हामीले आफ्नै पार्टी भित्र गर्न सकेनौं भने हामीले वर्तमान कम्युनिष्ट सरकारको स्वेच्छाचारीताका विरुध्द जनता परिचालन गर्ने नैतिक बल गुमाउनेछौं ।
महाधिवेशनमा दिशाहिनता, चरम गुटबन्दी र अनुशासनहिनताले प्रश्रय पायो भने संघर्ष, समर्पण र शहादतबाट बनेको हाम्रो पार्टी र साथीहरुको विशाल पंक्तीका सामु हामी अपराधी प्रमाणित हुनेछौं। '
उनले अघि भनेका छन्, 'सभापतिजी मैले भरसक आफूलाई र आफ्नो विवेकलाई कहिल्यै गुटको बन्दी बनाइँन, अपमान र उपेक्षा मन्जुर गरे तर, सधैँ पार्टीहित र एकताको पक्षमा काम गरे।' नेता आचार्यले आफुले पार्टीको एक निष्ठावान व्याक्तिका रुपमा सभापतिलाई सम्बोधन गरेको भन्दै माथी उल्लेखित विषयमा सुधार गर्न आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।