काठमाडौं - एमाले अध्यक्षका केपी ओलीले यसपटकको स्थानीय तहको निर्वाचनमा पार्टी हार्नुको मुख्य कारण अन्तर्घात भएको बताएपछि फेरि एकपटक एमालेमा ठूलै बबन्डर मच्चिने संकेत देखिएको छ ।
आफ्नै पार्टीका प्रमुख र उपप्रमुखका उम्मेदवार हराउन केन्द्रीय नेताहरू नै लागेको भेटेपछि ओलीले कारबाहीको डण्डा चलाउने अनुमान गरिएको छ ।
निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न एमालेले आन्तरिक रूपमा फार्म प्रत्येक स्थानीय तह पठाउने र गोप्य रूपमा भरेर केन्द्रमा पठाउन सर्कुलर गरेको स्रोतले बतायो ।
यसपटक एमाले नराम्ररी निर्वाचनमा पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको छैन, ३० वर्षदेखिका एमालेका गढ भत्किएको छ ।
आफ्ना परम्परागत गढ भत्केपछि एमालेमा अहिले हलचल मच्चिएको छ । खासगरी हिजो एमालेमा किचलो बढ्दा माधवकुमार नेपाललाई अन्तिममा साथ छाडेर ओलीलाई साथ दिएका १० भाइमाथि अहिले संकटको कालो बादल मडारिएको छ ।
एमालेले ठाउँठाउँमा हार बेहोर्नुको मुख्य कारण ती नेताहरू परिचालित नभएको र पार्टीकै उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ ।
रुपन्देही, कास्की, गुल्मी, झापा, ताप्लेजुङ, इलाम, दोलखा, काठमाडौं, अछाम, मकवानपुरलगायतका जिल्लामा एमाले हार्नुको कारण १० भाइहरूकै निष्क्रियता भएको निष्कर्षमा ओली पुगेका छन् ।
साथै,काठमाडौं र पोखरा महानगरपालिका गुमाउनुको मुख्य कारण केन्द्रीय नेताहरूले नै असहयोग गरेको, अन्तर्घात गरेको निष्कर्षमा ओलीलगायतका नेता पुगेका हुन् ।
पोखरामा त पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको खुलेआम भिडन्त भयो । दुवैले एकअर्कालाई देखाइदिने भन्दै असहयोग गरेपछि कृष्ण थापा मेयरमा पराजित भएका छन् ।
काठमाडौं महानगरमा केशव स्थापित पराजित हुनुमा रामवीर मानन्धर, विद्यासुन्दर शाक्यलगायतले अन्तर्घात गरेको एमाले नेता कार्यकर्ता बताउँछन् ।
यस्तै, दोलखामा पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलबीच आन्तरिक संघर्षका कारण कांग्रेसले एमालेको ३० वर्षदेखिको गढ भत्काएको थियो ।
त्यसैले अहिले फेरि पनि एमालेका १० भाइमाथि कारबाही हुने त होइन भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।