सोमवार, मंसिर २० २०७८Dec 06 2021

Logo
images
images
images

आज लक्ष्मीपूजा गरिँदै

आज लक्ष्मीपूजा गरिँदै

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १८ २०७८

  • 990
    SHARES

  • आज लक्ष्मीपूजा गरिँदै

    काठमाडौं – तिहार पर्व अन्तर्गत बिहीवार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ ।

    तिथी घटबढका कारण बुधवार काग र कुकुर पूजा एकैदिन गरिएको छ ।

    images

    कात्तिक कृष्ण औंशीका दिन ‘धन सम्पत्तिले भरिपूर्ण होस्’ भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

    औंसीलाई अत्यन्त अँध्यारो रातका रुपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालो प्रकाशले आलोकित पार्न घरघरमा बत्ती बालेर लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकार आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश समेत पाइन्छ ।

    गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसैदिन पनि कसैकसैले लक्ष्मीपूजा पनि गर्ने गरेका छन् ।

    भगवान् रामचन्द्रले लोककल्याण भावनाले रावणादी विविध असुरको नाश गरेपछि कात्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको खुशीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग समेत छ ।

    यमराजले यमपञ्चकका ५ दिन बहिनी यमुना कहाँ बसेका कारण ‘यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने’ विश्वासमा खुशी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएकाले यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

    सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्ने धार्मिक परम्परा रहेको छ ।

    आज बिहीवारै साँझ भैलो समेत खेलिँदैछ । भैलो खेल्न घर आँगनमा आएकालाई सेलरोटी र दक्षिणासहित बिदा गर्ने गरिन्छ ।

    दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख सन्तोष प्रदान गर भनेर यो दिन चेलीबेटी भैलो खेलेर रमाइलो गर्छन् । वर्षका ४ महत्त्वपूर्ण रातमध्ये लक्ष्मीपूजाको रातलाई ‘सुखरात्रि’ भन्ने गरिन्छ । यसदिन स्त्री जाति विशेषगरी कुमारी केटीले घरघरै गई भैलो खेल्ने चलन रहेको छ ।

    साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ पनि छ ।

    सबैतिर सफा राखी आँगन, दैलो, सँघार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली भनिएको बताइन्छ । झिलिमीली पार्न विद्युतीय बत्ती, मैनबत्ती, दियोमा बत्ति तथा पाला र केराका सुत्लामा तेलमा भिजाएको कपास प्रयोग गरिन्छ । गाँउघरमा अहिले पनि आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ ।

    घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री–लोटामा फूलका माला लगाएर सिगार्ने गरिएको छ । दीपावलीपछि घरको पूजाकोठामा आफूसँग भएका सुनचाँदीका गरगहना, नगद रोटी र फलफूल राखेर फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गरिने परम्परा छ । यसदिन घरमा लक्ष्मीको बास भए वर्षभर आर्थिक संकट नपर्ने जनविश्वास रहेको छ ।

    लक्ष्मीपूजाका दिन बिहानै पूजा कोठा, पसल, उद्योग लगायतमा सरसफाई गरी फूलको माला लगाइदिने चलन रहेको छ । घरघरमा लक्ष्मी पूजा गरिसकेपछि समूह बनाएर घरघरमा भैलो खेल्न हिँड्ने गरिएको छ । सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारेर दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको पुराणमा उल्लेख गरिएको छ ।

    युवती समूहले हरियो गोबरले लिपेको र पुरुषहरुले भैलीराम भनेर भैली खेल्ने गर्छन् । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्ध अझ दीगो बनाउने माध्यमका रुपमा लिने गरिन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ ।

    दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्तास्वरुप पान, सुपारी, फूल दिने चलन छ । यसदिन टीका नलगाई केही खानु हुँदैन भन्ने विश्वास रहेको छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभिषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

    भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकार आवश्यक पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेश पूजा गरी बिमिरा पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ ।

    फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रुपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व रहेको छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधैं हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायु कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् ।

    सप्तरंगी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ भन्ने मान्यता रहेको छ । तिहारमा लगाइने टीका पहेंलो, निलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो रंगको गरी ७ रंगका हुन्छन् । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ ।

    दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयू बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १८ २०७८०६:२४:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend