यी हुन भारतीयहरूलाई काठमाडौंमा फसाउने नेपाली नागरिक महेन्द्र सिंह, निर्दोषले दुःख पाउँदै

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ५, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेटवर्किङ व्यवसाय र ठगी गरेको अभियोगमा प्रहरीले महेन्द्र सिंह भनिने नेपाली नागरिक महेन्द्र शाहीसहित १२ जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ ।

दुई हप्ता अगाडि शनिबार दरबारमार्गस्थित याक एण्ड यति होटेलबाट पक्राउ परेका मध्ये ३ जना नेपालीहरू छन् । ९ जना भारतीय नागरिकहरू रहेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट नेपाली नागरिकहरूलाई नै १ करोड २३ लाख रुपियाँ ठगी गरेको खुलेको छ । यो काण्डमा भारतीय नागरिकहरूभन्दा पनि नेपाली नागरिकहरूले प्रमुख दोषी रहेको अनुसन्धानका क्रममा देखिएको स्रोतले जनाएको छ ।

प्रहरीमा तीन जनाले मात्र ठगिएको उजुरी दिएका छन् । उनीहरूको उजुरी नेपाली नागरिकहरूमाथि छ । अन्य ठगिएका नेपालीको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा साइन ग्रुपका अध्यक्ष रसिद नसिम, अजितकुमार सिंह, मोहम्मद साइजिल, निरजकुमार मिश्र, अशोक कुमार, गिरिश उपाध्याय, रमेश राम, आयुश उपाध्याय, सुनिल उपाध्याय, कसिफ सकिल, गजेन्द्रकुमार सिंह, महेन्द्र शाही भनिने महेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध ठगी र संगठित अपराधसहितका मुद्धा चलाइएको एसएसपी सुवेदीले बताए । उनीहरूलाई काठमाडौं प्रहरीले पहिलो पटक दश र दोस्रो पटक पाँच दिनको जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षीया गौरीदेवी घिमिरेसहितका व्यक्तिले महेन्द्र सिंह भनिने महेन्द्र शाहीका विरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो । काठमाडौं प्रहरीका प्रवक्ता एवम् डिएसपी होबिन्द्र बोगटीले तीन नेपालीसहित १२ जना भारतीयलाई आफूले नै पक्राउ गरेर ल्याएको जानकारी दिए ।

उजुरी कर्ता घिमिरेले महेन्द्र सिंह भनिने महेन्द्र शाहीसँग पक्राउ परेका अन्यविरुद्ध आफूले कुनैपनि उजुरी नदिएको लिखित रुपमा जनाएकी छिन् । महेन्द्र सिंहसँगै पक्राउ पर्नेमा भारतीय नागरिक रशिद नसिम र अजित सिंह निर्दोष रहेको आफन्तहरूको भनाइ छ । नसिम र अजितका आफन्तले महेन्द्र सिंहले फसाएको भन्दै छाड्न नेपाल प्रहरीसँग अनुरोध गरेका छन् ।

डिएसपी बोगटीले नेटवर्किङ व्यवसायमा लागेको प्रमाण भेटेपछि सबैलाई पक्राउ गरेर ल्याइएको र दुई पटक म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
को हुन् महेन्द्र सिंह ?

नेपालमा करोडौँ रुपियाँ ठगी गरेर फरार रहेका महेन्द्र सिंह भनिने महेन्द्रा शाहीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । शाहीलाई प्रहरीले उच्च प्राथमिकतासहित खोजतलास गरेको थियो ।

पाँचतारे होटेलमा नेटवर्किङ व्यवसाय गरिरहेको सूचना र उजुरी पाएपछि प्रहरीले छापामारेको थियो । सोही क्रममा महेन्द्र पक्राउ परेका हुन् । महेन्द्रले विगत १५ महिनादेखि नेपालमा ठगी गरेर काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।

बाजुरा जिल्ला स्थायी घर भएका महेन्द्र शाहीले भारतमा महेन्द्र सिंहको नामबाट आधार कार्डका साथै भारतीय नागरिकता र पासपोर्ट पनि बनाएर बसेका थिए ।