आइपिएलको फाइनलमा मुम्बई र चेन्नाई भिड्दै, कुन विधाको विजेतालाई कति रकम ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २९, २०७६

काठमाडौं – भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको फाइनल खेलमा आइतबार राति मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंगस भिड्दै छन् ।

हैदरावादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि सुरु हुने खेल जसले जित्छ उसले सबैभन्दा बढी उपाधि जितको कीर्तिमान बनाउने छ । पहिलो क्वालिफायरमा मुम्बईले चेन्नाईलाई ६ विकेटले हराएको थियो । चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनलमा पुगेको हो ।

दुवै टिमले अहिलेसम्म ३–३ वटा उपाधि जितेका छन् ।

अवार्ड कसलाई कति ?
फाइनलको दिन १६ अवार्डका लागि ५४ करोड ४० लाख रुपैयाँ (भारतीय ३४ करोड रुपैयाँ) पुरस्कार बाँडिने छ । उपाधि विजेताले २० करोड भारु पाउने छ । उपविजेताले भारु १२.५ करोड रुपैयाँ पाउने छ ।

विजेता र उपविजेतापछि सबैभन्दा बढी रकम मैदानलाई दिइने छ । सात लिग या त्यो भन्दा बढी खेल खेलाउने मैदानलाई ५० लाख भारु तथा त्यो भन्दा कम खेल गराउने मैदानलाई २५ लाख रुपैयाँ दिइने छ ।

ओरेन्ज क्याप जित्ने खेलाडीले १० लाख भारु पाउने छ । डेभिड वार्नरले यो उपाधि जित्नेछन् । वार्नरले १२ खेलमा ६९२ रन बनाएका छन् । दोस्रो नम्बरमा पंजाबका लोकेश राहुल रहे । उनले ५९३ रन बनाएका छन् ।

दिल्ली क्यापिटल्सका कगिसो रबाडा र चेन्नाईका इमरान ताहिर बीच पर्पल क्यापका लागि टक्कर छ । १० लाख भारुका लागि यिनीहरु भिड्दै छन् । बाहिरिइसकेको दिल्लीका रबाडाले १२ खेलमा २५ विकेट लिएका छन् ।

फाइनल खेल्नुअघि ताहिरको १६ खेलबाट २४ विकेट छ ।

अरु कसलाई कति लाख ?
पर्फेक्ट क्याच अफ दि सिजन– १० लाख भारु
स्टाइलिश प्लेयर अफ दि सिजन– १० लाख भारु
गेम चेन्जर अफ दि सिजन – १० लाख भारु
इमर्जिङ प्लेयर अफ दि सिजन – १० लाख भारु

मोस्ट भ्यालुएबल प्लेयर अफ दि सिरिज – १० लाख भारु
सुपर स्ट्राइकर अफ दि सिजन – कार र ट्रफी
जारी प्रतियोगिताको सुरुदेखि नै पुरस्कारमा मात्र ५५ करोड भारतीय रुपैयाँ खर्च हुँदैछ । गत सिजनमा यो मुल्य ५० करोड भारु थियो ।