क्रोएसियासँग हारेपछि इंग्ल्यान्डले सुँगुरमा पोख्यो रिस

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार ३०, २०७५

काठमाडौं – फूटबल विश्वकपको सेमिफाइनलमा क्रोएसियासँग हारेको पीडा पचाउन नसकेका इंग्ल्यान्ड समर्थकहरूले एउटा सुँगुरमा आफ्नो रिस निकालिरहेका छन् ।

 

 

प्रशंसकहरू आठ वर्षे सुँगुर मार्कसले क्रोएसियाविरुद्ध जीतको गलत भविष्यवाणी गरेको भन्दै उसलाई सिध्याउने कुरा गरिरहेका छन् । उसलाई काटेर मासु वा रोल बनाएर खाइने सम्भावना छ ।

 

 

सुँगुर मार्कसले लाइभ टेलिकास्ट चलिरहेको बेलामा डर्बीशायरस्थित आफ्नो घरमा सेमिफाइनलमा इंग्ल्यान्ड टीमको जीत हुने संकेत दिएको थियो । उसका अघिल्तिर इंग्ल्यान्ड र क्रोएसियाको झण्डा भएका स्याउको थुप्रो राखियो ।

 

 

मार्कसले इंग्ल्यान्डवाला झण्डा छान्यो । तर थ्री लायन्सले हारेपछि भने मार्कसको ज्यानमै खतरा बन्यो । इंग्ल्यान्डका प्रशंसकहरूले सुँगुरविरुद्धको क्रोध सामाजिक सञ्जालमा व्यक्त गरे । उनीहरूले यो झुटो सुँगुरलाई मासु बनाएर खाने लेखे । एली नामक प्रयोगकर्ताले जनावर मन पराउने तर यो सुँगुरले सजाय पाउनुपर्ने किनकि यसले हप्ता नै बर्बाद गरिदिएको लेखिन् । एजेन्सी