आइपिएल क्रिकेटको प्लेअफ समिकरण पूरा, सन्दीपको अवरोधले मुम्बई बाहिरियो [ फोटोफिचर ]

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ७, २०७५

काठमाडौं – भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएलमा प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा किङस् इलेभेन पञ्जाब चेन्नई सुपर किङससँग ५ विकेटले पराजित भएपछि प्लेअफ समिकरण पूरा भएको हो ।

 

पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनायो । करुण नायरले ५४ तथा मनोज तिवारीले ३५ रन बनाए । पञ्जावलाई सस्तैमा आउट गर्न लुङगी गिदीले ४ विकेट लिए ।

 

जवाफमा चेन्नेईले १९.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुरेश रैनाले ६१ रन बनाए ।

 

पञ्जावको हारले राजस्थान रोयल्स मैदान बाहिर बसेर नै प्लेअफमा पुग्न सफल भयो । यता, मुम्बई इन्डियन्सले दिल्ली डेयर डेभिल्सलाई हराउन सकेको भए मुम्बई प्लेअफमा पुग्ने थियो ।

 

मुम्बईको यात्रामा सन्दीप लामिछानेले पुर्णविराम लगाइदिएका हुन् । सन्दीपले मुम्बईको ३ विकेट लिएका थिए । सन्दीपले आइपिएलमा ‘हेप्पी इन्डिङ’ गर्ने क्रममा दिल्लीलाई जिताएनन् मात्र ३ विकेट पनि चड्काएका हुन् ।

 

अर्को आइपिएलमा उनलाई लिनका लागि टिमहरुबीच प्रतिस्पर्धा हुन सक्ने आशा गर्न सकिन्छ ।

 

लिगमा १८ अंकसहित सनराइजर्स हैदराबाद पहिलो र चेन्नई दोस्रो भए । पहिलो क्वालिफायर्समा हैदराबाद र चेन्नई खेल्दा इलिमिनेटर खेलमा १६ अंकको कोलकाता नाइट राइडर्स र १४ अंकको राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।

 

मुम्बई, रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाबको समान १२ अंक हुँदै बाहिरिए । अन्त्यतिर सुधारिएको दिल्ली १० अंकसहित पुछारमा रह्यो ।  पहिलो क्वालिफायर मंगलबार मुम्बईमा हुनेछ । इलिमिनेटर खेल बुधबार कोलकातामा हुनेछ । फाइनल अर्को आइतबार हुनेछ ।