म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक रोबर्टो मानचिनी इटालीको मुख्य प्रशिक्षक नियुक्त

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ १, २०७५

एजेन्सी – इंग्लिश क्लब म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक रोबर्टो मानचिनी इटालीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । रुसमा हुने फिफा विश्वकप फुटबलमा पुग्न असफल इटालले सोमबार राति मानचिनीलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

 

इटालीले मुख्य प्रशिक्षक जियाम पियरो भेन्टुरालाई बर्खास्त गरेको ६ महिनापछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो । आगामी जेठ अन्तिम साताबाट हुने २१ औँ संस्करणको विश्वकपमा इटालीलाई छनोट गराउन नसकेपछि कार्तिकमा इटालीले प्रशिक्षक भेन्टुरालाई बर्खास्त गरेको थियो ।

 

प्रशिक्षक मानचिनीले इटालीसँग दुईवर्षको सम्झौता गरेका छन् । इटालीका पुर्व खेलाडीसमेत रहेका मानचिनीले यसै सिजनबाट रसियन क्लब जेनिथ सेन्ट पिटर्सबर्गको प्रशिक्षक पद छाडेका थिए । ५३ बर्षीय मानचिनले इटालीबाट ३६ खेल खेलेका थिए ।

मानचिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिग च्याम्पियन बनाएका थिए । तर, त्यसको अर्को सिजन मानचिनीलाई सिटीले बर्खास्त गरेको थियो ।