फिफा विश्वकप २०१८ को ट्रफीको यात्रा सुरु

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

एजेन्सी – फिफा विश्वकप २०१८ को ट्रफीको यात्रा सुरु फिफा विश्वकप २०१८ को ट्रफीको टुर सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रसियामा सुरु हुँदै छ ।

विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७ देखि रसियाको मस्को लुजिन्की स्टेडिएमबाट सुरु भएको थियो । यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी इन्फेन्टीनो र रियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्त रुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराईने छ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पुर्याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पुर्याइने छ ।

सन् २००६ देखि कोकाकोलाले फिफासँग लामो सम्झौता गरेर यो अभुतपूर्व ट्रफीको विश्वयात्राको सुरुवात गरेको हो । यो सक्कली ट्रफीको यात्रा कोकाकोलाले जर्मनीमा भएको विश्वकप २००६ बाट सुरु गरेको थियो । त्यति बेला यो ट्रफीलाई ३ महिना भित्र विश्वका ३१ देशमा पुर्याइएको थियो । जसलाई विश्वका लाखौैं फुटवल प्रेमीले प्रत्यक्ष रुपमा देख्ने अवसर पाएका थिए ।

सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्व कपमा दिइएको ट्रफीलाई विश्वको ८४ देशमा पुर्याइएको थियो । त्यसमा ५० वटा अफ्रिकी मुलुकहरु समेत रहेका थिए ।अहिलेसम्मकै धेरै देशमा भ्रमण गराईएको विश्वकप ट्रफी २०१४ ब्राजिल विश्वकपको हो । त्यतिबेला १० औं लाख फुटबलप्रेमिले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।

त्यतिबेला सन् २०१३ को डिसेम्बर २१ मा भुटानबाट ट्रफीलाई नेपाल ल्याइएको थियो । त्यसलाई नेपाल ल्याउन कोकाकोलाले एन्फासँग सहकार्य गरेको थियो । काठमाडौंको दशरथ रंगशालामा सार्वजनिक गरिएको ट्रफीलाई तात्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गर्नु भएको थियो । जहाँ ७५०० भाग्यमानि फुटबल प्रेमीले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए ।