इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीले बढायो अग्रता

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि होड पक्का गर्दै लगेको छ। बुधबार राति भएको खेलमा सिटीले जित निकाल्दा दोस्रो स्थानको युनाइटेड पराजित भएको छ। युनाइटेडको पराजय र सिटीको जितसँगै लिगमा दाबेदार सिटीले १५ अंकको अग्रता कायम गरेको छ। बुधबार भएको खेलमा वेस्ट ब्रुमलाई ३-० ले पराजित गरेसँगै सिटीले अग्रता बढाएको हो।

बुधबार नै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग २-० ले पराजित भएको थियो। सिटीको जितमा फर्डिनान्डोले १९ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै केभिन डे ब्रुइनले ६८ र सर्जियो अगुइरोले ८९ औं मिनेटमा गोल गरेपछि सिटी फराकिलो जितका साथमा शीर्ष स्थानमा अंक दूरी फराकिलो पार्न सफल भयो।

युनाइटेडमाथि टोटनह्यामको रवाफ

प्रशिक्षक माउरिसिओ पोचेटीनोको टोटनह्यामले आक्रमण सुरुवात गर्ने क्रममा ११ सेकेण्डमै युनाइटेडविरुद्ध गोल गरेको थियो। क्रिष्टियन एरिकसेनस्ले शानदार गोल गरेपछि युनाइटेड खेलमा सम्हालिन नपाउँदै पछि परेको थियो। त्यसपछि पनि लगातार युनाइटेडमाथि टोटनह्याम हावी भयो। पहिलो हाफमा नै दुई गोलले पछि पर्ने क्रममा युनाइटेड २८ औं मिनेटमा आत्मघाती गोलको शिकार भयो। फिल जोनेसले आत्मघाती गोल उपहार दिँदै टोटनह्यामलाई महत्त्वपूर्ण तीन अंक उपलब्ध गराएका थिए।

चेल्सी वर्नमाउथसँग पराजित

लिगकै अर्को खेलमा चेल्सी वर्नमाउथ सँग ३-० ले पराजित भएको छ। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सी दोस्रो हाफमा लगातार तीन गोल खान पुगेको थियो। चेल्सीलाई पराजित गर्ने क्रममा कालुम विल्सनले ५१ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसतै जुनियर स्टानिस्लासले ६४ मिनेटमा गोल गर्दा अर्को गोल तीन मिनेटपछि नै नाथन वाकेले गर्दैै चेल्सीलाई स्तब्ध बनाए। बुधबार नै भएको अर्को खेलमा एभर्टनले लेस्टरलाई पराजित गर्‍यो।

एभर्टनाई जित दिलाउने क्रममा दुवै गोल वालकोटले गरेका थिए। पहिलो हाफको २५ र ३९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। लेस्टरका लागि जेमी भर्डीले पेनाल्टीमार्फत ७१ औं मिनेटमा गोल फर्काए पनि बराबरीका लागि पनि पर्याप्त भएन। त्यस्तै अन्य खेलमा न्युकासल र बर्नलीले १–१, साउथह्याम्टन तथा ब्रिङ्टनले पनि १-१ र स्टोक र वाटफोर्ड गोलरहित बराबरी खेले।

लिगमा २५ चरणको खेलको समाप्तिमा म्यानचेस्टर सिटीको ६८ अंकका साथ शीर्ष स्थानमा छ भने युनाइटेड ५३ अंकका साथ दोस्रो ५० अंकका साथ लिभरपुल तेस्रो, समान ५० अंकका साथ चेल्सी चौथो स्थानमा रहेका छन्। उनीहरुलाई टोटनह्यामको ४८ पाँचौ र आर्सनललले ४२ अंक छैटौंसहित पछ्याइरहेका छन्।